काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीको एकता १३ दिन नबित्दै भंग भएको छ । रास्वपा र उज्यालो नेपालबीच पद बाँडफाँट र वैचारिक स्पष्टता नभएपछि एकता भंग भएको हो ।
उज्यालो नेपाल पार्टीले संघीयता, धर्मनिरपेक्षता र लोकतान्त्रिक गणतान्त्रिक संरचनाको विषयमा रास्वपा थप प्रस्ट हुनु पर्ने, पद र जिम्मेवारी बाँडफाँटमा स्पष्ट हुनुपर्ने लगायतका अडान लिएपछि दुई सतापछि नै यी दुई पार्टीबीचको एकता टुटेको हो। एकता भंग भए लगत्तै उज्यालो नेपाल पार्टीले अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गरेको छ ।
यता उज्यालो नेपालका संरक्षक कुलमान घिसिङसँगको सहमति भंग भएकोबारे रास्वपाका सभापति रवि लामिछानेले पार्टी सचिवालय बैठकमा ब्रिफिङ गरेका छन् । घिसिङले दिनदिनै माग फेर्ने गरेपछि अहिले एकताबद्ध भएर जान नसक्ने अवस्था आएको लामिछानेले सचिवालयको भर्चुअल बैठकमा जानकारी दिएका थिए । ब्रिफिङमा सभापति लामिछानेले भनेका छन्, ‘कुलमानले प्रत्येक दिन नयाँ नयाँ कुरा ल्याउने गर्नुभयो । एउटा माग सम्पन्न गर्यो भोलिपल्ट अर्को माग ल्याउने काम भयो । त्यसमा पनि मेरो भाग कति, म के हुने, मेरा मान्छे कति जना कहाँ राख्ने जस्ता माग ल्याउने काम कुलमानबाट भयो ।’
कुलमान पक्षले राष्ट्रिय उज्यालो पार्टी वा उज्यालो स्वतन्त्र पार्टी नाम राख्नु पर्ने अडान लिएका थिए । यसैगरी उज्यालो नेपाल पार्टीले संघीयता, धर्मनिरपेक्षता र लोकतान्त्रिक गणतान्त्रिक संरचनाको विषयमा रास्वपा थप प्रस्ट हुनु पर्ने अडान राखेका थिए ।
यसैगरी उज्यालोले वरिष्ठ उपसभापति बाहेक थप ३ वटा पद दिनुपर्ने माग पछिल्लो समय राखेको थियो। जसमा उज्यालोका तर्फबाट एक महामन्त्री थप्नु पर्ने प्रस्ताव पनि छ। रास्वपामा हाल पहिले र पछि बालेनको तर्फबाट थपिएका गरी दुई जना महामन्त्री छन्। उज्यालो पक्षलाई थप एक जना सहमहामन्त्री दिने सहमति भएको थियो। २१ फागनुमा हुने निर्वाचनमा प्रत्यक्ष उम्मेदवारीको लागि सिट तोकेरै बाँडफाँट गरेर जानुपर्ने उज्यालोको माग थियो ।
स्रोतका अनुसार कुलमानले रास्वपासँग केन्द्रीय समितिमा २६ सिट पाउनुपर्ने अडान राखेका छन् । रास्वपाले यसअघि १२ सिट दिने अनौपचारिक निर्णय गरेको थियो । कुलमानको अर्को माग भनेको समानुपातिकमा आफ्नो तर्फका कम्तिमा ६ जनाको सिट सुनिश्चित गर्नुपर्छ भन्ने पनि हो । यस्तै प्रत्यक्ष निर्वाचनमा आफ्नो पार्टीको ३० प्रतिशत उम्मेदवारी सुनिश्चित गर्नुपर्ने पनि उनको माग छ ।तर यी सबै मागमा सभापति लामिछाने सकरात्मक नदेखिएपछि कुलमानले बिच्चिएको स्रोतको भनाई छ ।












