बिर्तामोड । अन्तर्राष्ट्रिय गजल मञ्च र गोल्डेन क्रिएसनको आयोजना तथा सप्तक संगीत विद्यालयको सह–आयोजनामा आइतबार बिर्तामोडस्थित सप्तक संगीत विद्यालयमा ‘रश्मि गजल गुञ्जन’ शीर्षकको एकल गजल कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा गजलकार रश्मि असफलका पाँच उत्कृष्ट गजलहरूलाई गिनिज वर्ल्ड रेकर्डकर्ता गायक सन्तोष श्रेष्ठले एकल सङ्गीत र स्वरमा प्रत्यक्ष (लाइभ) गायनमार्फत प्रस्तुत गर्नुभएको थियो। उहाँको सशक्त गायनले उपस्थित दर्शक–श्रोतालाई मन्त्रमुग्ध बनाएको थियो। गिटारमा वरिष्ठ गिटारवादक तारा कार्की र तबलामा युवा तबलावादक प्रमोद धितालले सुन्दर साथ दिएका थिए।
कार्यक्रमका मुख्य अभिभावकका रूपमा नेपाल सरकारका पूर्व मुख्य सचिव तथा क्यानाडाका लागि पूर्व नेपाली राजदूत, गजलकार भोजराज घिमिरेको उपस्थिति रहेको थियो। गजलकार घनेन्द्र ओझाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो।
सप्तक संगीत विद्यालयका साना नानीबाबुहरूले संस्कृत भाषामा स्वागत गीत प्रस्तुत गर्दै अतिथिहरूलाई आत्मीय स्वागत गरेका थिए। कार्यक्रममा गजलकार विवश बलीभद्र कोइराला र दार्जिलिङका संगीतकार जीवन प्रकाश प्रधानले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा आख्यानकार पुण्य खरेल, साहित्य चौतारी बिर्तामोड झापाका संस्थापक संरक्षक तथा वर्तमान अध्यक्ष देवीभक्त श्रेष्ठ, गजलकार केशव आचार्य, राधा कडेल, प्राज्ञ सुभद्रा भट्टराई, साहित्यकार भवानी क्षेत्री, कवि विरही अधिकारी, घरदलान साहित्यका अभियन्ता गणेश निरौला, कवि तथा गजलकार लिला अनमोल, देवीचरण भण्डारी, आख्यानकार कृष्ण बराल, साहित्यकार कुमार भट्टराई, गीतकार टीका भट्टराई, स्रष्टा घनश्याम पथिक, मायामितु न्यौपाने, यमन सुवेदी, कवि तुलसीप्रसाद भट्टराई, लोकगायक अनिरुद्र ओली, समालोचक हरिनारायण भट्टराईलगायत झापा, इलाम, मोरङ र सुनसरी जिल्लाबाट गजलकार, साहित्यकार, कवि, लेखक, गायक, संगीतकार तथा संगीतप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
सप्तक संगीत विद्यालयका संस्थापक गुरु सरोज वत्सको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्रष्टा खगिन्द्रा खुसीले सहजीकरण गर्नुभएको थियो।












