झापा । जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त आयोजनामा सार्वजनिक सुनुवाइ (नागरिक सुनुवाइ) तथा सुरक्षा सचेतना कार्यक्रम सम्पन्न भएको छ।
शिवसताक्षी नगरपालिका–११, झिलझिले बजारस्थित सामुदायिक भवनको सभाहलमा मंगलबार कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्रा रहनुभएको थियो भने अध्यक्षता जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले गर्नुभएको थियो।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. २ गण चन्द्रगढी झापाका सशस्त्र प्रहरी उपरीक्षक डोलबहादुर भण्डारी, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बु, स्थानीय जनप्रतिनिधि, महिला सञ्जालका प्रतिनिधि, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, विद्यालय, उद्योग–व्यवसाय, विभिन्न संघ–संस्था, सञ्चारकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिसहित करिब १५० देखि १६० जना स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो।
सार्वजनिक सुनुवाइका क्रममा सहभागीहरूले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सेवा प्रवाह तथा स्थानीय तहमा देखिएका सुरक्षा चुनौतीबारे प्रश्न, सुझाव र गुनासाहरू प्रस्तुत गरेका थिए। ती जिज्ञासाहरूको प्रमुख जिल्ला अधिकारी गेलाल र प्रहरी उपरीक्षक लिम्बुले प्रत्यक्ष रूपमा जवाफ दिँदै स्पष्ट पारेका थिए।












