दमक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले भयरहित निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षा सुनिश्चित गर्न नसकेको आरोप लगाउनुभएको छ।

सोमबार झापा–५ अन्तर्गत दमकमा प्रेस चौतारी नेपालद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वर्तमान सरकार शान्ति सुरक्षाप्रति गम्भीर नदेखिएको टिप्पणी गर्नुभयो। उहाँका अनुसार देशमा भय र त्रासको वातावरण बढ्दै जाँदा स्वतन्त्र रूपमा अभिव्यक्ति दिनसमेत कठिन अवस्था सिर्जना भएको छ।

‘आज पत्रकारहरू नै सेल्फ सेन्सरसिप गर्न बाध्य छन्। कसको पक्षमा लेख्दा समस्या आउँछ भन्ने डर छ,’ ओलीले भन्नुभयो, ‘प्रधानन्यायाधीशले समेत धम्की आएको सार्वजनिक रूपमा बताएका छन्। निर्वाचन आयोग त्रासमा छ, प्रहरीको मनोबल खस्किएको छ। जेल फोड्ने, आपराधिक गतिविधिमा संलग्नहरूको मुद्दा फिर्ता लिने काम भएको छ। यस्तो अवस्थामा शान्ति सुरक्षाको अवस्था गम्भीर बनेको छ।’

झापाका प्रहरी प्रमुख (एसपी) सरुवाको प्रसंग उठाउँदै अध्यक्ष ओलीले सुरक्षाकर्मीमाथि राजनीतिक हस्तक्षेप भएको संकेत गर्नुभयो। ‘म २५ वर्षअघि गृहमन्त्री भएको व्यक्ति हुँ। त्यतिबेला यस्तो अभ्यास थिएन,’ उहाँले भन्नुभयो, ‘निष्पक्ष रूपमा काम गर्छ कि भन्ने आशंकाका कारण एसपी सरुवा गरिएको हो। सबै दलले आ–आफ्नो अनुकूलतामा सुरक्षाकर्मी फेर्न दबाब दिए भने उनीहरूले कसरी निष्पक्ष रूपमा काम गर्न सक्छन् ?’

अध्यक्ष ओलीले झापामा विकास निर्माणका कामहरू आफ्नो कार्यकालमै प्रारम्भ भएको दाबी गर्दै सञ्चारकर्मीहरूलाई स्थलगत अवलोकन गरी सही रिपोर्टिङ गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि उम्मेदवारी दर्ताका लागि गृह जिल्ला आएका उहाँले झापाको विकासलाई नजिकबाट हेर्न आग्रह गर्नुभयो।

‘नदी नियन्त्रण, खानेपानी, शिक्षा र स्वास्थ्यका क्षेत्रमा उल्लेखनीय काम भएका छन्। दुर्गम क्षेत्रसम्म उद्यम र व्यवसाय विस्तार भएका छन्,’ उहाँले भन्नुभयो, ‘विशाल औद्योगिक क्षेत्र निर्माणको तयारी भइरहेको छ। कृषिको आधुनिकीकरण र उद्योग स्थापना अन्तिम चरणमा पुगेको छ।’

झापामा व्यापक परिवर्तन आएको उल्लेख गर्दै उहाँले विकासलाई निरन्तर प्रक्रिया भएको बताउनुभयो। ‘बाटाघाटा, पूर्वाधार र समग्र विकासमा झापा अगाडि बढेको छ। घर पातला भए, बाटा बाक्ला भए,’ ओलीले थप्नुभयो, ‘शिक्षामा उत्तरतिर राम्रो प्रगति भएको छ भने दक्षिणतिर अझै बढी ध्यान दिनुपर्ने अवस्था छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0