झापा । झापाको झिलझिलेमा राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरेका दुई खेलाडीलाई सम्मान गरिएको छ। शिवसताक्षी नगरपालिका वडा नं. ८ को कार्यालयले आज वडा कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गर्दै दुई महिला खेलाडीलाई सम्मान गरेको हो।

गत डिसेम्बर १६ देखि २० सम्म काठमाडौँको लैनचौरमा सम्पन्न अल नेपाल इन्टर वर्ल्ड टेबल टेनिस च्याम्पियनसिप अन्तर्गत महिला टिम तथा महिला सिंगल्स दुवै विधामा विजेता बन्न सफल इभान थापा र सिक्का श्रेष्ठलाई नगदसहित सम्मान गरिएको थियो।

शिवसताक्षी नगरपालिका वडा नं. ८ निवासी यी दुवै खेलाडीले वडा तथा नगरको गौरव बढाउन महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै प्रोत्साहन स्वरूप जनही नगद ११ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको वडा अध्यक्ष सन्त फेउदिनले जानकारी दिनुभयो। उहाँले खेलकुद क्षेत्रमा लाग्ने प्रतिभावान खेलाडीहरूलाई स्थानीय तहबाट निरन्तर सहयोग र हौसला प्रदान गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

सम्मान कार्यक्रममा वडा सदस्यहरू, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नं. ४ का नेपाली कांग्रेस उम्मेदवार देउनमान थेवे, नगर सभापति अशोक, समाजसेवी पर्शुराम ढुंगाना, सतासीधाम जेसीज २०२६ का अध्यक्ष निरोज दुलाललगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले खेलकुदले युवालाई अनुशासित, स्वस्थ र राष्ट्रको पहिचान बढाउने माध्यम भएकाले स्थानीय सरकारले खेलाडीको संरक्षण र प्रवर्द्धनमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0