दमक । झापाको दमक नगरपालिका–८ मा रहेका विद्यालय तथा स्वास्थ्य संस्थाको अनुगमन गरिएको छ। बालमैत्री वडा घोषणा गर्न योग्य भए–नभएको मूल्याङ्कनका लागि जिल्ला समन्वय समिति झापाको टोलीले आज स्थलगत अनुगमन गरेको हो।

टोलीले वडा क्षेत्रमा रहेका शैक्षिक तथा स्वास्थ्य संस्थाको अवस्था, बालमैत्री सूचकहरूको कार्यान्वयन तथा सेवा–सुविधाको अवस्थाबारे निरीक्षण गरेको जनाएको छ।

जिल्ला समन्वय समिति झापाका प्रमुख विश्व बरालको नेतृत्वमा गएको अनुगमन टोलीले दमक–८ स्थित जनता माध्यमिक विद्यालय र आधारभूत स्वास्थ्य केन्द्रको स्थलगत निरीक्षण गरेको हो। टोलीमा जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ता रोक्का, जिल्ला समन्वय अधिकारी अमृत राई, जिल्ला प्रहरी कार्यालय झापाका प्रतिनिधि प्रहरी निरीक्षक विपन्न विश्वकर्मा, नेपाल पत्रकार महासंघ झापाका प्रतिनिधि मनकुमार गदाल, दमक नगर बाल सञ्जालका अध्यक्ष दिवस वाग्ले तथा वडा बाल सञ्जाल दमक–८ की अध्यक्ष दिलासा संग्रौला लगायत सहभागी थिए।

अनुगमनका क्रममा विद्यालयमा बाल कक्षाको अवस्था, खानेपानीको व्यवस्था तथा बालबालिकालाई उपलब्ध गराइने दिवा खाजाबारे जानकारी लिइएको थियो। विद्यालय प्रशासनले यी विषयमा सन्तोषजनक जानकारी दिएको प्रमुख बरालले बताउनुभयो।

तर विद्यालयको शौचालयमा सरसफाइको अभाव देखिएको र दुर्गन्ध फैलिएको विषयमा अभिभावकहरूले गुनासो गरेको पाइएको छ। विद्यालय प्रशासनका अनुसार कर्मचारी कटौतीपछि सरसफाइ व्यवस्थापनमा समस्या देखिएको हो।

यसैगरी अनुगमन टोलीले दमक–८ कै आधारभूत स्वास्थ्य केन्द्रको पनि निरीक्षण गरेको थियो। स्वास्थ्य केन्द्रमा अपाङ्गमैत्री भवन, खानेपानीको धारा तथा बालबालिकाका लागि विश्राम गर्ने कोकरो लगायतका संरचना रहेको वडा अध्यक्ष धर्मप्रसाद दाहाल (दीपेश) ले जानकारी दिनुभयो।

भौगोलिक दूरीका कारण केही कठिनाइ भए पनि बालबालिकालाई खोप लगायतका सबै आवश्यक सेवा उपलब्ध गराइँदै आएको अध्यक्ष दाहालले स्पष्ट पार्नुभयो।

अनुगमन अघि वडा कार्यालयमा आयोजित बालमैत्री उन्मुख वडाको सूचक प्राप्तिका लागि भएको अभिमुखीकरण कार्यक्रममा दमक–८ ले ९२.२ प्रतिशत सूचक पूरा गरेको अभिलेख सार्वजनिक गर्दै बालमैत्री वडा घोषणा गर्न योग्य रहेको दाबी गरिएको थियो। उक्त जानकारी बालमैत्री अभियन्ता शेषकुमार निरौलाले प्रस्तुत गर्नुभएको थियो।

नगर प्रमुख राम थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख रोक्का, मनकामना टोल विकास संस्थाका अध्यक्ष हरि न्यौपाने, जनता मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम भण्डारी, बन्धु विकास टोलका अध्यक्ष ओम खनाल लगायतले जिज्ञासा राखेका थिए।

कार्यक्रममा दमक नगर बाल सञ्जालका अध्यक्ष दिवस वाग्ले र वडा बाल सञ्जाल दमक–८ की अध्यक्ष दिलासा संग्रौलाले बजेट निर्माण तथा योजना प्रक्रियामा बालबालिकाको सहभागिताबारे अनुभव साझा गरेका थिए।

जिल्ला समन्वय समितिको अनुगमन प्रतिवेदन अध्ययनपछि एक साताभित्र दमक–८ लाई बालमैत्री वडा घोषणा गर्ने वा नगर्ने विषयमा निर्णय गरिने प्रमुख बरालले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0