कमल । झापा जिल्लाको कमल गाउँपालिका वडा नं ४ मा न्यायिक समितिको क्षेत्राधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कमल गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिको संयोजक श्री प्रमिला न्यौपानेको प्रमुख आतिथ्यतामा कमल कार्यपालिकाको न्यायिक समितिले न्यायमा पहुँच बढाउन अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो।
न्यायिक समितिको काम, क्षेत्राधिकार र कार्य सम्पादन प्रक्रिया बारे बस्ती स्तरमा जनसाधारणलाई बुझाउन न्यायिक समिति टोल बस्तीमा आएको भनी कमल गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक न्यौपानेले बताउनुभयो । सानातिना विवाद समेत अदालत पुग्दा न्याय प्राप्ती सरल, सहज र छिटोछरितो हुन सकेन । अब स्थानीय स्तरको अदालतको रूपमा न्यायिक समिति रहेको छ। सो समितीलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले सानातिना विवाद हेर्ने अधिकार तोकिदिएको छ।

सोहीअनुरूप न्यायिक समितिले बस्ती स्तरमा न्यायिक समितिमा पहुँच बढाउन यस्ता कार्यक्रम आयोजना गरिएको हो भनि बताउनु भएको छ। उहाँले सीमित जनशक्ति, पूर्वाधार र स्रोत साधनका बाबजुद न्यायिक समितिले आफ्नो कार्य सरल, सहज, निष्पक्ष र पारदर्शि बनाई प्रभावकारी न्याय प्रदान गर्ने लक्ष्य राखेको छ भनी बताउनुभयो।
कार्यक्रमले न्यायिक समितिको प्रभावकारिता अभिबृद्धि भएको भनी कमल गा.पा. वडा नं ४ का वडाअध्यक्ष चन्द्र प्रसाद भट्टराईले बताउनुभयो।
सो कार्यक्रममा कमल गा.पा. वडा नं ४ का वडाध्यक्ष चन्द्र प्रसाद भट्टराई, वडा सदस्य एवं न्यायिक समिति सदस्य नविन राई समेतको उपस्थिति रहेको थियो ।
न्यायिक समिति सचिवालयकी उजुरी प्रशासक एलिसा श्रेष्ठले सन्चालन गर्नु भएको सो कार्यक्रमको सहजीकरण झापा जिल्ला अदालतका शाखा अधिकृत रामचन्द्र बस्नेतले गर्नुभएको थियो भने सो कार्यक्रममा कमल गाउँपालिका वडा नं ४ का बिभिन्न टोल विकास संस्थाका पदाधिकारी र समाजसेवी लगायत ५० जना भन्दा बढी सहभागीहरुको उपस्थिति रहेको थियो ।












