भद्रपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला समिति झापाको एकता बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ७९९ सदस्यीय जिल्ला समितिको घोषणा गर्दै नवनिर्वाचित सदस्यहरूलाई सपथ ग्रहण गराइएको छ।
कार्यक्रम नेकपाका प्रदेश इन्चार्ज तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रदेश सह–इन्चार्ज सावित्रीकुमार काफ्ले ‘समर’, प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो ‘मौसम’, प्रदेश संयोजक हर्कबहादुर नेम्बाङ ‘मिक्सो’, मणीकुमार साम्पाङ ‘विजय’, झलकसिंह दर्लामी ‘सन्देश’, रञ्जित तामाङ, पर्शुराम बस्नेत, विष्णु मिश्र, सीपी कडरिया, कुशल लिम्बु, निरू खतिवडा ‘अनु’ लगायत केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरूको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि राजेन्द्र राईले सरकारको सुकुम्बासीमाथिको नीति तथा सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिका कारण जनतामा सरकारप्रति अविश्वास बढ्दै गएको दाबी गर्दै लोकतान्त्रिक शक्तिबीच सहकार्य र बाम शक्तिहरूबीच एकता अपरिहार्य भएको बताउनुभयो।
उहाँले प्रदेश सरकारको नेतृत्वबारे आफ्नो पार्टीको धारणा स्पष्ट पार्दै, “अब नेपाली कम्युनिस्ट पार्टीले मुख्यमन्त्रीमा दाबी गर्दैन मात्रै होइन, आफ्नो हक खोज्छ। विगतमा अन्य दललाई समर्थन गर्यौं, अब नेतृत्व हाम्रो पार्टीले पाउनुपर्छ,” भन्नुभयो।
प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो ‘मौसम’ले प्रदेश सरकार गठनका लागि कुन दललाई समर्थन गर्ने भन्ने विषयमा पार्टीले अझै औपचारिक निर्णय नगरेको स्पष्ट पार्दै, प्रदेशमा राजनीतिक अस्थिरता उत्पन्न भए स्थायित्वका लागि आवश्यक शर्तसहित सत्ता साझेदारी गर्न नेकपा तयार रहेको बताउनुभयो।
प्रदेश संयोजक हर्कबहादुर नेम्बाङ ‘मिक्सो’ले जनताको बलिदानबाट प्राप्त अधिकार र उपलब्धिमाथि हस्तक्षेप भइरहेको आरोप लगाउँदै वर्तमान सरकार निरंकुश बन्दै गएको दाबी गर्नुभयो। यस्तो परिस्थितिमा लोकतान्त्रिक मूल्य र जनअधिकारको रक्षाका लागि नेता–कार्यकर्तालाई तयार रहन उहाँले निर्देशन दिनुभयो।

बैठकमा विभिन्न संगठनात्मक निर्णयहरू समेत गरिएको थियो। कार्यक्रमको अध्यक्षता जिल्ला संयोजक **खड्क तिम्सिना ‘पवन’ ले गर्नुभएको थियो भने सञ्चालन बीपी भट्टराईले गर्नुभएको थियो।
प्रदेश कमिटी सदस्य सानु कार्की बस्नेतका अनुसार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत दश बामपन्थी घटकले २०८२ कात्तिक १९ गते एकीकरण गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टी संयोजक, माधवकुमार नेपाललाई सहसंयोजक र ‘तारा’ लाई चुनाव चिन्ह कायम गरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन गरेका हुन्।
उहाँका अनुसार पार्टीको एकताको सन्देश कार्यकर्ता र जनस्तरसम्म पुर्याउने तथा संगठन सुदृढीकरण गर्ने उद्देश्यले एकता बैठक तथा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो। साथै, केन्द्रीय समितिबाट पार्टी नियमावली र पार्टी आचारसंहिता–२०८३ जारी भइसकेको तथा हाल अनलाइन प्रणालीमार्फत सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको कार्य पनि भइरहेको जानकारी दिनुभयो।












