काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन २९ गते हुने राष्ट्रिय भेलाको तयारी तीव्र बनाएको छ । भेलाका लागि भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको समन्वय र परिचालन गर्न इतर समूहले १० जना नेतालाई विभिन्न जिम्मेवारी तोकेको छ ।

सोमबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको इतर पक्षका शीर्ष नेताहरूको बैठकले प्रचारप्रसार समितिको संयोजकको जिम्मेवारी मीन विश्वकर्मालाई दिएको छ । विश्वकर्माले बुद्धिजीवी परिचालनको जिम्मेवारीसमेत सम्हाल्ने छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) परिचालनको जिम्मा कुन्दनराज काफ्ले, नेपाल तरुण दलको जिम्मा जीतजंग बस्नेत र नेपाल महिला संघ परिचालनको जिम्मेवारी उषा राउत मिश्रलाई दिइएको छ ।

यस्तै, नेपाल दलित संघ परिचालनको जिम्मा यमुना विश्वकर्मा, नेपाल किसान संघको जिम्मा अध्यक्ष गणेश तिमिल्सिना र लोकतान्त्रिक आदिवासी जनजाति परिचालनको जिम्मा जगत बरामलाई दिइएको छ ।

नेता मोहनबहादुर बस्नेतलाई काठमाडौं जिल्ला सम्पर्क समिति तथा खेलकुद समन्वय, किरण पौडेललाई विदेश जनसम्पर्क समिति र हरिशरण नेपालीलाई ट्रेड युनियन परिचालनको जिम्मेवारी दिइएको मीन विश्वकर्माले जानकारी दिए ।

आवश्यकताअनुसार थप समिति गठन गरी अन्य भ्रातृ तथा शुभेच्छुक संस्थालाई पनि परिचालन गरिने उनले बताए । इतर समूहले राष्ट्रिय भेलाको तयारीका लागि १६५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाउने भएको छ । आगामी साउन १६ गतेसम्म सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि परिचालन गरिसक्ने तयारी रहेको विश्वकर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0