समितिको सदस्यबाट निकाल्न सभापति खड्कालाई सांसद सुनारकाे चुनौती, वर्षमानले भने- आरोपित गरेर भाग्न पाइँदैन
काठमाडौं । सत्तारूढ दल रास्वपाका सांसद खगेन्द्र सुनारले आईजीपीलाई जिम्मेवारीबाट हटाएर प्रहरीभित्र भएको अनियमितताबारे छानबिन गर्नुपर्ने प्रस्ताव राखेपछि सार्वजनिक लेखा समितिमा विवाद दिएको छ।
आजको बैठकमा सुनारले नेपाल प्रहरीमा जुत्ता, मोजा, कपडालगायतका सामान खरिदमा अनियमितता भएको विषयमा तत्काल छानबिन समिति गठन गर्नुपर्ने माग गरे।
प्रहरी महानिरीक्षक (आइजिपी)माथि प्रश्न उठिसकेको अवस्थामा पदमै राखेर छानबिन गर्न नहुने बताए।
उनले भने, ‘तत्काल छानबिन समिति बनाउनुपर्छ, आरोपित मानिसहरूलाई जिम्मेवारीबाट बाहिर राख्नुपर्छ र निष्पक्ष ढङ्गले छानबिन गरिनुपर्छ।’ उनी त्यतिमा रोकिएनन्, आइजिपीको घरबाट ३ करोड चोरी भएको कुरा पनि उठाए।
सुनारले आइजीपीमाथि आरोप लगाएपछि विपक्षी दलका सांसदहरूले विमति राखे। आफ्नो कुराको समितिमै विरोध भएपछि उनले भने, ‘यो उजुरीको वैधताको विषयमा प्रश्न उठेको छ। एउटा मान्छेले बोलेको विषयमा सबैले दोहोर्याएर जवाफ फर्काउने होइन। आरोपितको प्रवक्ता भएर यहाँ बोल्ने होइन। पीडितको विरुद्धमा यत्रो जघन्य भ्रष्टाचार जस्तो आरोपको एउटा समिति भित्र छलफल भइरहेको छ।’
उनले समितिमा आइसकेपछि गम्भीर छलफल हुनुपर्ने बताए।
उनले थपे, ‘५ दिन पहिला पठाएर यी विषयमा छलफल हुँदै छ। पीडित मान्छे लुकेर आएर दाइ मेरो नाम नभनिदिनुहोला भनेर उसले बेनामी उजुरी दिन्छ। यत्रो संसारले देखेको विषयमा आरोपितहरूको पक्षपोषण गरेर उतापट्टि मुख फर्काउने?’
भ्रष्टाचारको विरुद्धमा प्रश्न गरे बापत समितिबाट आफूलाई आजैबाट हटाउन सभापतिलाई चुनौती दिए।
उनले भने, ‘मलाई आजको मितिबाट आउट गरिन्छ भने मलाई कुनै आपत्ति छैन। मलाई निकालिदिनुस्। तर मेरो प्रश्न यही हो। हामी यहाँ के को लागि बसेको? कसैलाई दोषी करार गरेको होइन। आरोप लागिसकेपछि छानबिन हुँदै गर्दा सम्बन्धित मान्छे पदमा बहाल हुनुहुँदैन भनेको हो। भोलि चोखिइसकेपछि आएर राख्नुपर्छ।’
उनले आफू तल्लो वर्गको पक्षमा रहेको बताए। उनले थपे, ‘छलफल तितो हुन्छ, मुख मिठो बनाएर समितिमा छलफल गर्न पाइन्न। गम्भीर विषयमा सुनपानी हाल्ने काम हुँदैन। अन्यथा आजको मितिबाट यो समितिमा बस्दिनँ।’
यति भनेर सांसद सुनार बैठकबाट उठेर हिँडे। उनी हिँडेपछि नेकपाका सांसद वर्षमान पुनलगायत विपक्षी दलका सांसदहरूले आफ्नो कुरा राखेर भाग्न नपाइने बताए। पुनले भने, ‘यहाँ बस्नुपर्छ आरोपित गरेर भाग्न पाइँदैन।’
सुनार बैठकबाट उठेर हिँडेपछि समितिका सभापति भरतबहादुर खड्काले कार्यक्षेत्रभित्र बसेर मात्रै छलफल गर्नुपर्ने बताए।
उनले भने, ‘हामीले नेपाल सरकारका सचिव, आईजीलाई सम्मानित तरिकाले बोलाएको हो। कानुन बमोजिम प्रमाणित नभएसम्म कोही पनि आरोपित हुँदैन। त्यो यति विज्ञ माननीयज्यूहरूलाई मैले त्यो कुरा भनिरहन नपर्ला। उजुरी आइसकेपछि यसलाई दुवै पक्षबाट छलफल नगरीकन यो प्राकृतिक न्यायको सिद्धान्तभित्र पर्छ।’
कसैलाई पनि आफ्नो सफाइको मौकाबाट बञ्चित गरिनु नहुने बताए।
उनले हामीले राज्य संयन्त्रलाई निरुत्साहित गर्न नहुने बताए। कुनै पनि विषयमा प्रक्रियागत र कानुनी रूपमा समितिको क्षेत्राधिकारभित्र रहेर मात्र अनुसन्धान गर्ने बताए ।
समितिलाई मिनी पार्लियामेन्ट भएकाले मर्यादा राख्न र शिष्ट व्यवहार प्रदर्शन सबै सांसदहरूलाई सभापति खड्काले निर्देशन दिए ।












