काठमाडौँ । टप एन्ड टी२० सिरिजअन्तर्गत नेपालले अस्ट्रेलियाको होबार्ट हुरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गर्दै सिरिजको पहिलो जित हात पारेको छ ।
मंगलबार राति डार्विनको मारारा क्रिकेट ग्राउन्डमा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १५४ रन बनाएको थियो । जवाफी ब्याटिङमा होबार्ट हुरिकेन्स एकेडेमी १८.३ ओभरमै सबै विकेट गुमाएर ११५ रनमा समेटियो ।
नेपालका लागि कुशल भुर्तेलले ३४ बलमा ३९ रन (६ चौका) बनाएर शीर्ष स्कोरर बने । मयन यादवले ३१ र कप्तान अनिल साहले २८ रन (२ छक्का) थपे । लोकेश बमले अविजित २० रन हाने ।
होबार्टका बलरमा राफ म्याकमिलनले ४ ओभरमा मात्र १८ रन दिई ३ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे । मार्कस बीनले २ विकेट हात पारे ।
होबार्टले सुरुआतमा नितेश सामुयल (३७) र ज्याक कर्टेन (१२) को साझेदारीमा राम्रो सुरु गरे पनि नेपाली बलरहरूले दबाब कायम राखे । निभेथन राधाकृष्णनले २० र टिम वार्डले २३ रन बनाए पनि टिमलाई लक्ष्य नजिक पुर्याउन सकेनन् ।
नेपालका बलरमा नारायण जोशीले २ ओभरमा ८ रन दिई ३ विकेट लिए । पवन सर्राफ र शाहब आलमले २-२ विकेट हात पारे । यो जितसँगै नेपालले सिरिजमा पहिलो सफलता हासिल गरेको छ भने होबार्ट हुरिकेन्स एकेडेमीले दोस्रो हार बेहोरेको छ ।
यसअघि नेपालले नर्देन टेरिटोरी स्ट्राइक र बङ्गलादेश हाइ पर्फर्मेन्स ११ विरुद्ध लगातार हार व्यहोरेको थियो ।












