काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्रमा हालै गएको विनाशकारी पहिरो नेपालको उच्च हिमाली क्षेत्रमा रहेको हिमनदी भत्किएपछि आएको निष्कर्ष चीनले सार्वजनिक गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबार नियमित पत्रकार सम्मेलनमा चीन–नेपाल सीमावर्ती बन्दरगाह क्षेत्रमा गएको विनाशकारी पहिरोको कारणबारे केही विदेशी सञ्चारमाध्यमले गरेको टिप्पणीको जवाफ दिँदै यस्तो बताएका हुन्।
गुओका अनुसार चीन र नेपालका विज्ञ तथा सम्बन्धित सरकारी निकायले विपद्को कारणबारे अध्ययन तथा मूल्याङ्कन गरेका थिए। अध्ययनका क्रममा नेपालको उच्च हिमाली क्षेत्रमा रहेको हिमनदी भत्किएपछि पहिरो गएको निष्कर्ष निकालिएको उनले बताए।
‘ठूला विपद्का बेला तथ्यमा आधारित नभएका र दुर्भावनापूर्ण अड्कलबाजीको चीन दृढतापूर्वक विरोध गर्छ,’ गुओले भने। विपद्पछि चिनियाँ सरकारले नेपाललाई आपत्कालीन नगद सहायता तथा मानवीय सहयोग उपलब्ध गराएको उनले जानकारी दिए। पहिलो चरणमा चीनबाट पठाइएको ५० टन राहत सामग्री काठमाडौं आइपुगेको उनले बताए।
विपद्प्रभावित क्षेत्रमा उद्धार कार्यमा सहयोग गर्न चीनले सुरुङ उद्धार विशेषज्ञका दुई टोली नेपाल पठाएको जनाएको छ। साथै, प्रभावित क्षेत्रका तस्बिर, भू–उपग्रह तथा जलविज्ञानसम्बन्धी तथ्याङ्क नेपालसँग आदानप्रदान गरिएको गुओले बताए। माथिल्लो क्षेत्रमा बनेको अवरोध तालबारेको पूर्वसूचनासमेत नेपाललाई उपलब्ध गराइएको उनले जानकारी दिए।
यसैबीच, चीनले विपद्का कारण नेपालमा अलपत्र परेका नेपाली नागरिकलाई यथाशीघ्र स्वदेश फर्काउन सक्रिय रूपमा सहयोग गरिरहेको जनाएको छ। गुओका अनुसार आइतबार दिउँसोसम्म विपद्प्रभावित क्षेत्रमा सम्पर्कमा आएका सबै चिनियाँ नागरिकलाई सुरक्षित रूपमा उद्धार गरी अन्यत्र स्थानान्तरण गरिएको छ। तर, विपद्पछि अझै सम्पर्कविहीन रहेका चिनियाँ तथा अन्य विदेशी नागरिकको खोजी तथा उद्धारका लागि चीनले सबै प्रयास जारी राखेको गुओले बताए।












