झापा । विदेश जाने अवसर धेरै युवाका लागि सपनाजस्तै हुन्छ । हातमा जापान जाने अवसर थियो, सिभिल इन्जिनियरिङको अध्ययन थियो र निर्माण क्षेत्रमा काम गरेको अनुभव पनि । तर अर्जुनधारा नगरपालिका–७ का २७ वर्षीय प्रतीक भट्टराईले भने विदेशको बाटोभन्दा आफ्नै माटो रोजे ।

विदेश गएर कमाउने सोचलाई पछि सार्दै उनले आफूले सिकेको सीप र अनुभवलाई स्वदेशमै व्यवसायमा बदल्ने निर्णय गरे । त्यसैको परिणाम हो—शनिश्चरे बजारमा सञ्चालनमा आएको ‘जिरो सैलुन एण्ड एकाडेमी’ ।

स्थानीय युवालाई सीप सिकाउने, रोजगारीको अवसर सिर्जना गर्ने र स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यसहित भट्टराईले अर्जुनधारा–८ स्थित शनिश्चरे बजारमा सैलुनसँगै प्रशिक्षण केन्द्रसमेत सञ्चालनमा ल्याएका हुन् । सैलुनको शुक्रबार वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले शुभारम्भ गरेका थिए ।

“सिभिल इन्जिनियरिङ पढेको थिएँ । निर्माण क्षेत्रमा पनि केही समय काम गरेँ । हालसालै जापान जाने अवसरसमेत आएको थियो,” प्रतीकले भने, “तर विदेश जानुभन्दा आफूले सिकेको सीपलाई यहीँ व्यवसायका रूपमा अघि बढाउने सोच बनाएँ ।”

उनको यो निर्णय केवल एउटा व्यवसाय सुरु गर्ने सोच मात्र थिएन । आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्ने आत्मविश्वास र सीपलाई अवसरमा बदल्ने प्रयास पनि थियो ।

सैलुन व्यवसायमा प्रवेश गर्नुअघि प्रतीकले बिर्तामोडस्थित जेन्जी बार्बर सपबाट सैलुनसम्बन्धी सीप हासिल गरेका थिए । रुचि, सीप र व्यवसायलाई एउटै ठाउँमा जोड्ने उद्देश्यले उनले सैलुनसँगै ‘एकाडेमी’ सञ्चालनमा ल्याएका हुन् ।

“सैलुनमा सेवा दिने मात्र होइन, सीप सिक्न चाहने युवालाई तालिम दिने र उनीहरूलाई पनि स्वरोजगार बन्न सक्ने वातावरण बनाउने हाम्रो उद्देश्य हो,” उनले भने ।

‘जाइरो सैलुन एण्ड एकाडेमी’मा कपाल काट्ने तथा विभिन्न हेयर स्टाइल बनाउनेदेखि विशेष अवसरका लागि हेयर स्टाइलिङ र मेकअप सेवा उपलब्ध हुनेछ । त्यस्तै ग्रुमिङ तथा सौन्दर्यसम्बन्धी तालिम, नयाँ तथा आधुनिक हेयर स्टाइलसम्बन्धी सीप विकास तालिमसमेत सञ्चालन गरिनेछ ।

एकाडेमीले कपालसम्बन्धी एक महिने बेसिक र दुई महिने एड्भान्स कोर्ससमेत सञ्चालन गर्ने जनाएको छ । सीप सिकेर आफैँ व्यवसाय सुरु गर्न चाहने युवालाई लक्षित गरी प्रशिक्षण कार्यक्रम अघि बढाइने प्रतीकले बताए ।

विदेशिने सोचका बीच स्वदेशमै अवसर

युवा पुस्ताको ठूलो हिस्सा रोजगारी र अवसरको खोजीमा विदेशिने क्रम बढिरहेका बेला प्रतीकले आफ्नै ठाउँमा व्यवसाय रोज्नु आफैँमा फरक उदाहरण बनेको छ ।

सैलुनको शुभारम्भ गर्दै वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले विदेश जाने युवाको बढ्दो प्रवृत्तिबिच स्वदेशमै व्यवसाय सुरु गर्ने सोच सकारात्मक भएको बताए ।

“अहिले अधिकांश युवाको सोच विदेश जानेतर्फ केन्द्रित छ । तर आफ्नै ठाउँमा सीप र लगानी प्रयोग गरेर व्यवसाय सञ्चालन गर्नु आफैँमा राम्रो उदाहरण हो,” उनले भने, “यस्ता व्यवसायले स्थानीयस्तरमै रोजगारी र स्वरोजगारको अवसर सिर्जना गर्न सहयोग पु¥याउँछ ।”

छोराको निर्णयमा बाबुको खुसी

प्रतीकले जापान जाने अवसर त्यागेर आफ्नै ठाउँमा व्यवसाय सुरु गरेपछि उनका बुबा सुरेश भट्टराई पनि खुसी छन् ।

उनका लागि छोराले रोजेको बाटो केवल एउटा सैलुन सञ्चालन गर्ने निर्णय होइन, आफ्नै श्रम र सीपमा विश्वास गर्ने निर्णय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0