शिवसताक्षी । झापा शिवसताक्षीको झिलझिलेमा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १७औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। दमकमा केन्द्रीय कार्यालय रहेको संस्थाले सोमबार झिलझिले सेवा केन्द्रअन्तर्गत इकाइगत साधारण सभा सम्पन्न गरेको हो।
साधारण सभामा संस्थाका अध्यक्ष बुद्धिसागर बरालले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै स्वर्णलक्ष्मीले सहकारीका मूल्य, मान्यता, सिद्धान्त र असल अभ्यासलाई आत्मसात् गर्दै आफ्नो कारोबार सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले यस अवधिमा संस्थाको कुल वासलात ४.६ प्रतिशत बृद्धि गरी रु १ अर्ब २५ करोडको हाराहारीमा पुर्याउन संस्था सफल भएको जानकारी दिनुभयो ।
सो अवधिमा संस्थाले ९३ करोड ४ लाख बढी रुपैयाँ निक्षेप संकलन तथा ९६ करोड ९५ लाख रुपैयाँ ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख छ।
संस्थाका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा प्रधान कार्यालय दमकबाट ९७ करोड ७५ लाख २६ हजार रुपैयाँ, झिलझिले सेवा केन्द्रबाट ७ करोड ७५ लाख १५ हजार रुपैयाँ, उर्लाबारी सेवा केन्द्रबाट १० करोड २ लाख ३५ हजार रुपैयाँ, सुरुङ्गा सेवा केन्द्रबाट ६ करोड २८ लाख ९४ हजार रुपैयाँ र गौरादह सेवा केन्द्रबाट ४ करोड ३१ लाख ४४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
संस्थाको शेयर पुँजी १० करोड ९३ लाख हाराबारीमा पुगेको छ भने, विभिन्न कोषहरुमा १३ करोड ३९ लाख रकम संचित भएको संस्थाले जनाएको छ।
संस्थाले वित्तीय दाहित्व तथा जोखिम कोषलाई ध्यानमा राख्दै बाह्रिय ऋण शुन्यमा ल्याउन सफल भएको अध्यक्ष बरालले बताउनुभयो ।
साधारण सभाका क्रममा संस्थाले आफ्ना सबै सेवा केन्द्रबाट उत्कृष्ट कारोबार गर्ने ५१ जना सदस्यलाई सम्मान गर्ने घोषणा समेत गरेको छ। संस्थाको स्थापना दिवसका अवसरमा उनीहरूलाई सम्मान गरिने जनाइएको छ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष सञ्जीव रिमालले स्वागत मन्तव्य राख्नुभएको थियो भने झिलझिले सेवा केन्द्रका प्रमुख दुर्गाप्रसाद गुरागाईंले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। संस्थाले आगामी आश्विन ९ गते कस्मिक पार्टी प्यालेस दमकमा मान्युट प्रमाणिकरण गरी सम्पूर्ण साधारण सभाका कार्यक्रम सम्पन्न गर्ने जनाएको छ।












