शिवसताक्षी । शिवसताक्षी नगरपालिका–दूधेमा रहेको आदर्श बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२÷०८३ को वित्तीय कारोबारसहितको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ।
संस्थाको विस्तारित बैठकमा २१ औं वार्षिक साधारण सभाका विभिन्न कार्यक्रम तथा मिति तय गर्दै वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको हो। प्रतिवेदनमा संस्थाको आर्थिक वर्ष २०८२÷०८३ को वित्तीय अवस्था, कारोबार तथा संस्थागत गतिविधिसम्बन्धी विवरण समेटिएको जनाइएको छ।
संस्थाले आ.व. २०८२÷०८३ मा १९ करोड ७० लाख ४५ हजार ६५६ को वासलत रहेको संस्थाका व्यवस्थापक प्रकाशचन्द्र पोख्रेलले बताउनु भयो । व्यवस्थापक पोख्रेलका अनुसार १६ करोड ३ लाख ७२ हजार ७८१ बचत संकलन, १४ करोड ८२ लाख ६५ हजार १०६ रुपैया संस्थाले लगानी गरेको छ। चालु आर्थिक वर्षमा संस्थाले २० करोड ६८ लाखको वासलत पुरयाउने लक्ष्य लिएको व्यवस्थापक पोख्रलले जानकारी दिनुभयो ।
संस्थाले साधारण सभा तथा माइन्युट प्रमाणीकरणसम्बन्धी कार्यक्रम विभिन्न स्थानमा आयोजना गर्ने जनाएको छ। साधारणसभा २०८३ असोज १५ गते बोलोचोकस्थित जनता डेरीमा, १७ गते श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय, दूधेमा र १९ गते संस्थाको कार्यालय, दूधेमा माइन्युट प्रमाणीकरण साधारणसभा गरी सम्पूर्ण साधारण सभाको कार्यक्रम सम्पन्न गरिने छ ।
सहकारीले सदस्यहरूको सहभागिता, संस्थाको वित्तीय अवस्था र आगामी कार्यदिशाबारे छलफल गर्दै संस्थागत गतिविधिलाई थप व्यवस्थित बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। विस्तारित बैठकका सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरुले सरकारले सहकारी संस्थाहरुले लिइने सेवा शुल्क हटाउने, भाका नागेको ऋण उठाउने र कर्मचारी तथा सञ्चालकहरुलाई आश्वयक तालिम दिई कार्यसम्पादनमा सहज पु्याउने गरी काम गर्नेलगायत विविध विषयमा छलफल गरिएको थियो । संस्थाका का.वा अध्यक्ष यादव गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन व्यवस्थापक प्रकाशचन्द्र पोख्रेलले गर्नुभएको थियो ।












