झापा । शिवसताक्षी नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित स्थानीय पाठ्यपुस्तक ‘शिवसताक्षीको पहिचान’ विमोचन गरेको छ । नगरपालिकाले कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई लक्षित गरी तयार गरिएको स्थानीय पाठ्यपुस्तक एक कार्यक्रमका बीच सार्वजनिक गरेको हो । पुस्तकको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्प्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफेलगायत वडाध्यक्षहरुले संयुक्त रुपमा विमोचन गर्नुभएको हो ।
स्थानीय परिवेश, मौलिकता र नगरको पहिचानलाई विद्यार्थीसमक्ष परिचित गराउने उद्देश्यले पुस्तक तयार गरिएको नगरपालिकाले जनाएको छ । पहिलो चरणमा कक्षा १–३ का लागि पुस्तक तयार गरी विमोचन गरिएको र क्रमशः थप कक्षाका पुस्तक तयार गर्दै कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी भइरहेको शिक्षा अधिकृत छवि ढकालले जानकारी दिनुभयो ।
स्थानीय पाठ्यपुस्तकमा शिवसताक्षी नगरपालिकाभित्र रहेका विभिन्न पर्यटकीय तथा धार्मिक क्षेत्र, जातजाति, भाषा, धर्म, संस्कृति, परम्परा, स्थानीय मौलिकता तथा नगरको समग्र परिचय समेटिएको छ । विद्यार्थीले आफ्नै गाउँ–ठाउँ, समाज र स्थानीय परिवेशबारे विद्यालय तहबाटै जानकारी हासिल गर्न सकून् भन्ने उद्देश्यले पाठ्यपुस्तकमा स्थानीय विषयवस्तुलाई प्राथमिकता दिइएको जनाइएको छ ।
शिक्षा अधिकृत ढकालका अनुसार स्थानीय पाठ्यक्रमले विद्यार्थीलाई आफ्नो समुदाय र नगरसँग जोडिन सहयोग पुर्याउनेछ । स्थानीय इतिहास, कला, संस्कृति, प्राकृतिक सम्पदा, धार्मिक तथा पर्यटकीयस्थल र सामाजिक विविधताबारे अध्ययन गर्दा विद्यार्थीमा आफ्नो ठाउँप्रतिको अपनत्व र पहिचानको भावना विकास हुने अपेक्षा गरिएको छ ।
नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण तथा कार्यान्वयनलाई प्राथमिकतामा राख्दै क्रमशः कक्षा थप गर्दै जाने जनाएको छ । पहिलो चरणमा कक्षा १–३ का लागि पाठ्यपुस्तक तयार पारिएको हो भने आगामी चरणमा अन्य कक्षाका लागि आवश्यक सामग्री तथा पुस्तक तयार गरी कक्षा ८ सम्म स्थानीय पाठ्यक्रमलाई व्यवस्थित रूपमा कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ ।
नगरपालिकाको शिक्षा क्षेत्रमा स्थानीय आवश्यकता र परिवेशलाई समेटेर अघि बढाइएको यो प्रयासले विद्यार्थीलाई आफ्नो समाज, संस्कृति, भूगोल र नगरको विविधतासँग नजिकबाट परिचित गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।












