बिर्तामोड। झापाको बिर्तामोड नगरपालिकामा सामुदायिक तथा घरपालुवा कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप निःशुल्क लगाउने अभियान आजदेखि सुरु भएको छ।
विश्व रेबिज दिवसको अवसरमा बिर्तामोड नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाईँले प्राविधिकलाई भ्याक्सिन क्यारियर हस्तान्तरण गर्दै अभियानको उद्घाटन गर्नुभएको हो।
आजदेखि सुरु भएको अभियान असोज २१ गतेसम्म नगरपालिकाका सबै वडामा सञ्चालन हुने शाखाले जनाएको छ। अभियानअन्तर्गत भोलि वडा नम्बर १० का विभिन्न क्षेत्रमा कुकुर तथा बिरालोलाई रेबिजविरुद्धको खोप लगाइनेछ।
यस वर्ष नगर क्षेत्रका २ हजार सामुदायिक कुकुर तथा बिरालोलाई रेबिजविरुद्धको खोप लगाउने लक्ष्य राखिएको पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख डा. नगेन्द्र खड्काले जानकारी दिनुभयो।
अभियान उद्घाटन कार्यक्रममा नगरप्रमुख प्रसाईँले घरमा पालिएका कुकुर तथा बिरालोलाई अनिवार्य रूपमा खोप लगाएर अभियानको लाभ लिन आग्रह गर्नुभयो। उहाँले छरछिमेकी तथा समुदायका अन्य व्यक्तिलाई समेत रेबिजविरुद्धको खोपको महत्वबारे जानकारी गराउन आग्रह गर्नुभयो।
रेबिज संक्रमित कुकुरको टोकाइबाट नगरका विभिन्न वडामा घरपालुवा तथा सामुदायिक जनावरसमेत प्रभावित हुने गरेको भन्दै नगरपालिकाले हरेक वर्ष रेबिजविरुद्धको खोप अभियान सञ्चालन गर्दै आएको जनाएको छ।
कार्यक्रममा कार्यपालिका सदस्य संगिता शिवा, वडा नम्बर ४ का वडासदस्य उमेश राउतलगायतको उपस्थिति रहेको थियो।












