शिवसताक्षी । पौराणिक तथा धार्मिक महत्व बोकेको झापाको शिवसताक्षी नगरपालिका–०९ स्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र चिल्लागढधाममा संस्कृत पाठशाला सञ्चालनको तयारी गरिएको छ । चिल्लागढधाम परिसरमा रहेको ऐतिहासिक धार्मिक तीर्थस्थल भिमेश्वर शिवालय मन्दिरमा आगामी आश्विन १६ गतेदेखि संस्कृत गुरुकुल पाठशाला सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।
भिमेश्वर शिवालय मन्दिरको पहलमा सञ्चालन गर्न लागिएको गुरुकुलको उद्घाटन शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले गर्ने तयारी गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिननाथ खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार आश्विन १६ गते बेलुकी ७ बजे पाठशालाको औपचारिक उद्घाटन गरिनेछ ।
पाठशालामा प्रारम्भिक चरणमा बेलुकी ७ बजेदेखि ९ बजेसम्म कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ । महिलाहरूका लागि विशेष रूपमा श्रीमद्भागवत् गीता अध्ययन तथा अन्य सहभागीका लागि दैनिक जीवनमा आवश्यक पर्ने संस्कृत, पूजा–अर्चनाको विधि, पूजन विधान, कर्मकाण्ड, रुद्रीलगायतका विषयमा आधारभूत ज्ञान प्रदान गरिने अध्यक्ष खतिवडाले बताउनुभयो ।
उहाँका अनुसार हिन्दू संस्कार र परम्पराअनुसार अधिकांश घरमा बिहान–बेलुका नियमित रूपमा दीप प्रज्वलन, पूजा–अर्चना तथा विभिन्न धार्मिक कर्म गरिने भए पनि त्यसको सही विधि, मन्त्र र प्रक्रियाबारे धेरैलाई पर्याप्त जानकारी छैन । यही अवस्थालाई मध्यनजर गर्दै स्थानीय नागरिकलाई संस्कृत भाषासँगै धार्मिक संस्कार, पूजा विधि तथा कर्मकाण्डसम्बन्धी आधारभूत ज्ञान उपलब्ध गराउने उद्देश्यले पाठशाला सञ्चालन गर्न लागिएको हो ।
“हामी सबैजसो घरमा दैनिक दियो बाल्छौँ, पूजा गर्छौँ । तर त्यसका लागि आवश्यक मन्त्र, विधि र पूजन विधानबारे धेरैलाई जानकारी हुँदैन,” अध्यक्ष खतिवडाले भन्नुभयो, “स्थानीय नागरिकलाई आफ्नै धार्मिक संस्कार र परम्परालाई विधिपूर्वक अभ्यास गर्न सहज होस् भन्ने उद्देश्यले पाठशाला सञ्चालन गर्न लागेका हौँ ।”
पाठशाला सञ्चालनका लागि आवश्यक व्यवस्थापन तथा बजेटका विषयमा शिवसताक्षी नगरपालिकासँग छलफल भइरहेको अध्यक्ष खतिवडाले जानकारी दिनुभयो । सुरुवाती चरणमा भने मन्दिरका अध्यक्ष खतिवडाले स्वयं निःशुल्क अध्यापन गराउने मन्दिरले जनाएको छ । विद्यार्थी तथा सहभागीको रुचि र आवश्यकताका आधारमा आगामी दिनमा पाठ्यक्रम तथा कक्षा विस्तार गर्दै लैजाने योजना रहेको बताइएको छ ।
चिल्लागढधामलाई धार्मिक तथा ऐतिहासिक महत्वको क्षेत्रका रूपमा विकास गर्ने क्रममा संस्कृत शिक्षालाई पनि जोड दिन पाठशाला सञ्चालनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । संस्कृत भाषा, धार्मिक संस्कार र कर्मकाण्डसम्बन्धी ज्ञान नयाँ पुस्तासम्म पुर्याउन यसले सहयोग पुग्ने स्थानीयको विश्वास छ ।
शिवसताक्षी नगरपालिकामा पछिल्लो समय संस्कृत शिक्षाको क्षेत्रमा विभिन्न संस्थाले गतिविधि सञ्चालन गर्दै आएका छन् । हाल शिवसताक्षीको सताक्षीधाममा सताक्षीधाम गुरुकुल, माइधारस्थित लक्ष्मीनारायण मन्दिर परिसरमा अनन्त दर्शन संस्कृत विद्यालय तथा कन्या गुरुकुल लगायतका संस्थामा संस्कृत भाषामा पठनपाठन हुँदै आएको छ ।
यसै क्रममा चिल्लागढधाममा समेत संस्कृत पाठशाला सञ्चालनको तयारी भएपछि शिवसताक्षीमा संस्कृत भाषा, धार्मिक शिक्षा तथा संस्कारसम्बन्धी ज्ञानको विस्तारमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।
स्थानीयस्तरमै संस्कृत भाषा र धार्मिक कर्मकाण्डको आधारभूत ज्ञान लिन सकिने वातावरण बनेमा धार्मिक संस्कारलाई पुस्तान्तरण गर्न तथा मौलिक परम्परा संरक्षण गर्नसमेत सहयोग पुग्ने बताइएको छ ।












