शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका–६, शिवगञ्जस्थित जनआदर्श नमुना माध्यमिक विद्यालयमा कक्षा ११ को रजिस्ट्रेसन नै नगरेका विद्यार्थीलाई कक्षा १२ को परीक्षा दिलाएर उत्तीर्ण गराइएको प्रकरण सार्वजनिक भएको छ। घटनामा संलग्न रहेको आरोप लागेका तत्कालीन लेखापाल रेवतीरमण खनाललाई विद्यालय व्यवस्थापन समितिले सेवाबाट बर्खास्त गरेको छ।
राष्ट्रिय परीक्षा बोर्डको अनलाइन प्रणालीमा रहेको विद्यार्थी विवरण सच्याउने सुविधाको दुरुपयोग गरी पुराना विद्यार्थीको विवरण हटाएर नयाँ तीन जना विद्यार्थीको विवरण प्रविष्ट गरिएको विद्यालय प्रशासनको भनाइ छ। ती विद्यार्थीलाई विद्यालयको लेटरप्याड, छाप र प्रधानाध्यापकको हस्ताक्षर कीर्ते गरी तयार पारिएको प्रवेशपत्रका आधारमा कक्षा १२ को परीक्षा दिलाइएको आरोप छ। उनीहरू परीक्षामा उत्तीर्णसमेत भएका थिए।
कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीले शैक्षिक प्रमाणपत्र नपाएपछि विद्यालयमा बुझ्न जाँदा घटना बाहिर आएको हो। विद्यालयको अभिलेख, परीक्षा केन्द्रमा रहेको ट्रिप्लिकेट कपी र लेजर भिडाउँदा कक्षा ११ को रजिस्ट्रेसन तथा कक्षा १२ को परीक्षार्थी विवरण मेल नखाएको पाइएको विद्यालय प्रशासनले जनाएको छ।
खनालमाथि प्रतिविद्यार्थी २२ हजार रुपैयाँका दरले तीन जनाबाट ६६ हजार रुपैयाँ लिएको, तर उक्त रकम विद्यालयको खातामा दाखिला नगरेको आरोप छ। परीक्षा नियन्त्रण कार्यालयमा बुझाउनुपर्ने राजस्व भने विद्यालयकै खाताबाट भुक्तानी गरिएको बताइएको छ। रकम बुझाएका विद्यार्थीले रसिदसमेत नपाएको गुनासो गरेका छन्।
यसअघि पनि विद्यालयको बिहानी सत्रमा लेखापालका रूपमा कार्यरत रहँदा विद्यालयलाई बुझाउनुपर्ने तीन लाख ४३ हजार रुपैयाँ बक्यौता रहेको विषय सार्वजनिक भएको छ। उक्त रकम खनालले गत असोज २२ गते तलबबाट कट्टा गरी चुक्ता गरेको बताइएको छ।
घटनाबारे विद्यालय व्यवस्थापन समितिले असोज १३ गते खनालसँग तीन दिनभित्र लिखित स्पष्टीकरण मागेको थियो। तर, उनले जवाफ नदिएपछि समितिले उनलाई सेवाबाट बर्खास्त गरेको जनाएको छ।
करिब एक महिनाअघि मात्र विद्यालयको प्रधानाध्यापकमा आएका रमेश दाहालले घटनालाई विद्यालयको मर्यादामाथिको गम्भीर प्रहार भन्दै दोषीमाथि कानुनी कारबाही अघि बढाइएको बताएका छन् । अहिल विद्यार्थीले ११ कक्षाको ग्रेडसिट मागेपछि विद्यालय प्रशासनलाई अनियमता भएको थाह भएको थियो । विद्यालयले प्रशासनले खोजी गर्दै जाँदा विगतका दिनहरुमा यस्तो कार्य गर्दै आएको खुलेको थियो । प्रधानाध्यापक दाहालले भने, विद्यालय व्यवस्थापन समितिले उहाँलाई बर्खास्त गरेको छ ।
यता, आरोपित खनालले भने आफूलाई मात्रै दोषी देखाएर बलिको बोको बनाउन खोजिएको दाबी गरेका छन्। विद्यालयले तीन जना विद्यार्थीको विवरणमा अनियमितता भएको बताए पनि आफूले दुई जना विद्यार्थीको भविष्यलाई ध्यानमा राखेर सहयोग गरेको उनको भनाइ छ। छुट रजिस्ट्रेसन प्रक्रियाबारे तत्कालीन प्रधानाध्यापक तुलसीप्रसाद अधिकारीलाई जानकारी गराएको र विद्यार्थीबाट उठाइएको रकम पनि उनैलाई बुझाएको खनालको दाबी छ।
विगतमा तत्कालीन प्रधानाध्यापक र अर्का लेखापाल दिनेश श्रेष्ठले पनि यस्तै काम गर्ने गरेको आरोप लगाउँदै खनालले विद्यालयबाट आफूले अझै दुई लाख एक हजार छ सय रुपैयाँ लिन बाँकी रहेको बताएका छन्। विद्यार्थीबाट लिएको रकम आफूले विद्यालयबाट पाउनुपर्ने रकमसँग मिलान गर्नेबारे तत्कालीन प्रधानाध्यापकलाई मौखिक जानकारी गराएको उनको भनाइ छ।
यस विषयमा प्रतिक्रिया लिन खोज्दा तत्कालीन प्रधानाध्यापक अधिकारीसँग सम्पर्क हुन सकेन। शिवसताक्षी नगरपालिकाका शिक्षा शाखा प्रमुखले भने आफूलाई घटनाबारे जानकारी नभएको बताएका छन्।
घटनामा विद्यार्थीको शैक्षिक अभिलेख, परीक्षा प्रणाली र आर्थिक कारोबारसम्बन्धी गम्भीर प्रश्न उठेका छन्। आरोपितमाथि कानुनी निकायबाट हुने अनुसन्धान र कारबाहीपछि घटनाको थप वास्तविकता स्पष्ट हुने देखिन्छ।












