शिवसताक्षी । बडा दशैंको रौनकसँगै झापाको शिवसताक्षी नगरपालिका–११ स्थित दुधेबजार रात्रीकालीन उज्यालोले झिलिमिली बनेको छ। बजार क्षेत्रमा फ्लड लाइट जडान गरिएसँगै दुधेबजारको रात्रीकालीन दृश्य थप आकर्षक बनेको हो।
शिवसताक्षी नगरपालिकाको सहयोग तथा दुधे स्थानीय बजार विकास समितिको सक्रियतामा बजार क्षेत्रमा दुई वटा फ्लड लाइट जडान गरिएको छ। बजारलाई रातको समयमा उज्यालो बनाउनुका साथै व्यापारी, व्यवसायी, स्थानीय बासिन्दा तथा बजारमा आवतजावत गर्ने सर्वसाधारणको सुरक्षा र सहजतालाई ध्यानमा राखेर लाइट जडान गरिएको समितिले जनाएको छ। हाल दुधे शिवगञ्ज रोडमा २ ओटा फ्लड लाइट जडान गरिएको हो । यस अघि दूधे स्थानीय बजार विकास समितिले एउटा जडान गरेको थियो ।
जडान गरिएका फ्लड लाइटको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गर्नुभएको छ। नगरपालिकाको सहयोग र स्थानीय बजार विकास समितिको पहलमा गरिएको यस कार्यले बजारको सौन्दर्य अभिवृद्धि गर्नुका साथै रातको समयमा हुने व्यापारिक गतिविधिलाई समेत सहज बनाउने अपेक्षा गरिएको छ।
फ्लड लाइट जडानपछि दुधेबजारमा साँझपख मानिसहरूको चहलपहल बढ्न थालेको छ। उज्यालोको अभावमा साँझपख बजार क्षेत्रमा आवतजावत गर्न तथा व्यापार व्यवसाय सञ्चालन गर्न हुने असहजता कम हुने स्थानीयको अपेक्षा छ। विशेषगरी वडा दशैंजस्तो चाडपर्वको समयमा किनमेल गर्न आउने ग्राहकको संख्या बढ्ने भएकाले बजार क्षेत्रमा गरिएको प्रकाश व्यवस्थापनले थप सहजता प्रदान गर्ने विश्वास गरिएको छ।
चाडपर्वका बेला बजारमा हुने भीडभाडलाई व्यवस्थित गर्न, सम्भावित चोरी तथा अन्य सुरक्षा जोखिम न्यूनीकरण गर्न र बजारलाई थप व्यवस्थित तथा आकर्षक बनाउन फ्लड लाइटले सहयोग पुग्ने अपेक्षा गरिएको छ।












