शिवसताक्षी । डाँडा स्कुल झुम्रो कप २०८३ को उपाधि हैजा फुटबल क्लबले जितेको छ। झापाको शिवसताक्षी नगरपालिका–८ स्थित डाँडा स्कुलमा शनिबार आयोजित प्रतियोगिताको फाइनलमा हुलुलु फुटबल क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै हैजा फुटबल क्लबले उपाधि हात पारेको हो।
उपाधिसँगै विजेता हैजा फुटबल क्लबले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै, उपविजेता हुलुलु फुटबल क्लबले नगद ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको आयोजक गोर्खाली हर्टले जनाएको छ।
प्रतियोगितामा मिचेल मगर उत्कृष्ट खेलाडी घोषित भए भने हिलिहाङ लिम्बु सर्वाधिक गोलकर्ता बने। दुवै खेलाडीले जनही एक हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।
स्थानीय स्तरमा खेलकुदको विकास तथा पुरानो खेल परम्पराको संरक्षण गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा १४ वटा टोलीले सहभागिता जनाएका थिए। प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै समुदायमा खेलकुदप्रतिको आकर्षण बढाउन सहयोग पुर्याएको आयोजकको विश्वास छ।
पुर्खाहरूले परम्परागत रूपमा खेल्दै आएको झुम्रो खेलमा प्रयोग हुने झुम्रोबाट बनेको बलको इतिहासलाई जीवन्त राख्ने तथा नयाँ पुस्तालाई पुरानो खेल संस्कृतिबारे जानकारी गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गोर्खाली हर्टले जनाएको छ।
आधुनिक खेलकुदको बढ्दो प्रभावका बीच मौलिक खेल परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने प्रयासस्वरूप आयोजना गरिएको झुम्रो कपले स्थानीय संस्कृति, परम्परा र खेलकुदलाई एकै ठाउँमा जोड्ने काम गरेको छ। प्रतियोगिता शिवसताक्षी ८ डाँडा स्कुल श्री अरुणोदय आधारभूत विद्यालयको खेल मैदान भएको थियो ।












