विजेताले ११ लाख पाउने, सात टोलीबीच प्रतिस्पर्धा हुने
शिवसताक्षी । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा दोस्रो संस्करणको झापा महिला गोल्डकप आयोजना हुने भएको छ। आगामी मंसिर ५ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने गोल्डकपमा नेपालसहित भारत र भुटानका सात टोलीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
आइतबार दुधे रंगशालामा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक झापा महिला गोल्डकपले प्रतियोगिताबारे जानकारी दिएको हो। गोल्डकपका अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगितामा छिमेकी राष्ट्र भारत र भुटानका एक–एक टोलीसहित तीन विभागीय टोली र दुई ‘ए’ डिभिजन क्लब सहभागी हुनेछन्।
मंसिर १२ गते हुने फाइनल खेलको विजेताले ट्रफीसहित ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई एक लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ भने अन्य विधाका उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ।
महिला फुटबल खेलाडीलाई प्रोत्साहन गर्ने, झापामा महिला खेलाडी उत्पादनमा टेवा पुर्याउने तथा ग्रासरुट तहदेखि नै नियमित प्रशिक्षणको व्यवस्था गर्न पहल गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष थोप्राले बताए।
गोल्डकपको तयारीस्वरूप दुधे रंगशालाको स्तरोन्नतिको काम भइरहेको छ। आयोजकका अनुसार बाँसको अस्थायी प्याराफिट निर्माण र खेलमैदान स्तरोन्नतिको काम कात्तिक दोस्रो सातासम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यसपटक रंगशालाको पूर्वतर्फ चाइज स्टिलको प्याराफिट निर्माण गर्ने तयारीसमेत गरिएको छ।
प्रतियोगिता सञ्चालनका लागि करिब एक करोड २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगिताबाट सामाजिक उत्तरदायित्वअन्तर्गत प्रत्येक टिकट बिक्रीबाट १० रुपैयाँका दरले अटिजम भएका बालबालिका अध्ययनरत एक विद्यालय र आदिवासी नेत्रहीन संघलाई सहयोग गरिने आयोजकले जनाएको छ।
पत्रकार सम्मेलनमा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्राले झापा महिला गोल्डकपले शिवसताक्षीलाई नयाँ पहिचान दिलाएको बताए। नगरपालिकाले उच्चस्तरको रंगशाला निर्माण गरेकाले पनि प्रतियोगिता आयोजना गर्न सहज भएको उनको भनाइ थियो। रंगशालामा रात्रिकालीन खेल सञ्चालन गर्न फ्लडलाइट जडान गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
गत वर्ष सम्पन्न पहिलो संस्करणको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो। फाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै पुलिसले उपाधि उचालेको थियो। पुलिसको जितमा मिना देउवाले निर्णायक गोल गरेकी थिइन्।
दोस्रो संस्करणको प्रतियोगिताले महिला फुटबलको विकाससँगै शिवसताक्षीलाई खेलकुद पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्नसमेत सहयोग पुग्ने अपेक्षा आयोजकले गरेको छ।












