सरोज भट्टराई

शिवसताक्षी । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा झापाको शिवसताक्षी नगरपालिका–१० ट्याक्रममा सयपत्री फूल ढकमक्क फुलेका छन् । तिहारलाई लक्षित गरी स्थानीय महिला दिदीबहिनीहरूले लगाएको सयपत्री फूलखेती यतिबेला आकर्षक बनेको छ । फूलले बारी नै पहेँलपुर बनेपछि महिला किसानहरूमा उत्साह थपिएको छ ।

स्थानीय महिलाहरूले ६ कठ्ठा क्षेत्रफलमा करिब १० हजार सयपत्रीका बिरुवा लगाएका छन् । ‘सयपत्री फुल कृषक आमा समूह गठन गरी सामूहिक रूपमा सुरु गरिएको फूलखेतीले महिलाहरूलाई आयआर्जनसँग जोड्नुका साथै व्यावसायिक कृषितर्फ आकर्षित गरेको छ । तिहारमा सयपत्री फूल र मालाको माग बढ्ने भएकाले समूहले यसलाई आम्दानीको राम्रो अवसरका रूपमा लिएको छ ।

सयपत्री फुल कृषक आमा समूहकी संयोजक कविता बस्नेतले करिब २५ हजार रुपैयाँको लागतमा सुरु गरिएको फूलखेतीबाट अपेक्षा गरेअनुसारको प्रतिफल प्राप्त हुने विश्वास व्यक्त गरिन् । उनका अनुसार ६ कठ्ठा जमिनमा १० हजार बिरुवा रोपिएको छ । फूल राम्रोसँग फुलेका कारण यस वर्षको उत्पादनबाट उत्साहित बनेको उनले बताइन् ।

मौसममा हुन सक्ने प्रतिकूलतालाई ध्यानमा राख्दै समूहले फुलेका फूललाई माला उनेर सुरक्षित राख्ने तयारीसमेत गरेको छ । मौसम पूर्वानुमानअनुसार केही दिन वर्षा हुन सक्ने जानकारी पाएपछि फुलेका फूल खेर जान नदिन माला बनाएर कोल्ड स्टोरमा राख्ने योजना बनाइएको संयोजक बस्नेतले जानकारी दिइन् ।

‘फूलखेतीबाट राम्रो आम्दानी हुने अपेक्षा गरेका छौँ,’ बस्नेतले भनिन्, ‘यस वर्ष सयपत्री फूल बिक्रीबाट मात्रै दुईदेखि तीन लाख रुपैयाँसम्म आम्दानी हुने अनुमान गरेका छौँ ।’ फूलखेतीले स्थानीय महिलाहरूलाई सामूहिक रूपमा काम गर्ने र आफ्नै गाउँठाउँमा रोजगारी तथा आयआर्जनको अवसर सिर्जना गरेको उनको भनाइ छ ।

शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्राले फूलखेती स्थानीय महिलाहरूको आयआर्जन बढाउने महत्त्वपूर्ण माध्यम बन्न सक्ने बताए । स्थानीय स्तरमै फूल उत्पादन हुन थालेपछि तिहारका बेला बाहिरबाट फूल ल्याउनुपर्ने निर्भरता कम हुने र स्थानीय उत्पादनले बजारको माग पूरा गर्न सहयोग पुग्ने उनको भनाइ छ । उनका अनुसार एउटा माला १ देखि १५० रुपैया सम्ममा विक्री हुन्छ । माला समूहका सदस्यहरुले नै उनेर तयार पारिने छ ।

नगरप्रमुख थोप्राका अनुसार फूलखेतीलाई प्रोत्साहन गर्न नगरपालिकाले बिरुवा खरिदका लागि समेत सहयोग गरेको थियो । स्थानीय उत्पादनलाई प्राथमिकता दिन सके बाहिरबाट आयात हुने फूलको निर्भरता घटाउनुका साथै स्थानीय किसानको उत्पादनले बजार पाउने उनले बताए ।

उनले आगामी दिनमा फूलखेतीलाई थप क्षेत्रफलमा विस्तार गरी व्यावसायिक रूपमा अघि बढाउन सके नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । स्थानीय स्तरमा उत्पादित फूलको बजारीकरण, भण्डारण र व्यावसायिक उत्पादनमा ध्यान दिन सके फूलखेती महिलाहरूको दिगो आयआर्जनको माध्यम बन्न सक्ने उनको भनाइ छ ।
शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले महिला दिदीबहिनीहरुले फुल खेती गर्ने योजना सुनाएपछि समूह दर्ता गरी वैधानिक तरिकाले खेती गर्न सुझाएको बताइन् । उनले फुलखेतीको निरन्तर अनुगमन र महिलाहरुलाई आत्मनिर्भर बनाउन निरन्तर लागि परेको जानकारी दिइन् ।

तिहारमा सयपत्री फूलको माला, घर सजावट तथा पूजाआजाका लागि विशेष माग हुने गर्छ । यही मागलाई लक्षित गरी गरिएको स्थानीय फूलखेतीले शिवसताक्षीमा महिला उद्यमशीलता प्रवर्द्धन गर्नुका साथै स्थानीय उत्पादन र बजारबीचको सम्बन्धलाई समेत बलियो बनाउने अपेक्षा गरिएको छ । उचित भण्डारण, बजार व्यवस्थापन र उत्पादन विस्तार गर्न सके आगामी वर्षमा शिवसताक्षीलाई फूलखेतीको सम्भावनायुक्त क्षेत्रका रूपमा विकास गर्न सकिने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0