झापा । झापाको शिवसताक्षीमा नेकपा एमालेले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । शिवसताक्षी नगरपालिका वडा नं. ६ मा नेकपा एमालेले स्थानीय नेता तथा कार्यकर्ताहरुसँग दशै तिहार शुभकामना आदान प्रदान सम्पन्न गरेको हो ।
नेकपा एमाले शिवसताक्षी ६ वडा कमिटीले आयोजना गरेको दसैँ–तिहार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उनले एमाले समाप्त भएको ठानेर ढुक्क नहुन विपक्षीलाई आग्रह गरे।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा नेता मनोज ताम्लीले एमाले समाप्त भएको भन्ने भ्रममा नपर्न विपक्षी दलहरूलाई चेतावनी दिएका छन्। उनले पार्टीभित्रका कमजोरी सुधार्दै जनतामाझ गुमेको विश्वास र राजनीतिक विरासत पुनःस्थापित गर्ने अभियानमा एमाले अघि बढेको बताएका छन्।
‘एमालेलाई सिध्यायौँ भनेर ढुक्क नहुनुहोस्। एमाले सिद्धिएको छैन, निरन्तर उठिरहेको छ। अब हुने निर्वाचनबाट एमाले सर्वशक्तिमान राजनीतिक शक्तिका रूपमा उदाउनेछ,’ उनले भने।
ताम्लीले राजनीतिक आन्दोलनबाट ठूलो शक्ति बनेका दलहरूले त्यसपछिका निर्वाचनमा अपेक्षाविपरीत परिणाम भोग्नुपरेको इतिहास स्मरण गराउँदै वर्तमान राजनीतिक शक्ति र सत्ताको अवस्थालाई आगामी निर्वाचनको जितसँग जोडेर हेर्न नहुने धारणा राखे। अहिले झन्डै दुई तिहाइको सरकारमा रहेको दलले आगामी निर्वाचनमा पनि सहजै जित हासिल गर्छ भन्ने अनुमान गर्नु गलत हुने उनको भनाइ थियो।
उनले एमालेको मूल विचार र संगठन कमजोर नभएको, बरु पार्टीभित्रका केही व्यक्तिका कमजोरीका कारण जनतामा असन्तुष्टि बढेको स्वीकार गरे। ती कमजोरी पहिचान गरी सुधार गर्न युवा पुस्ताले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।
‘हाम्रा नेताहरूले युवा पुस्तालाई एमालेका विषयमा पर्याप्त बुझाउन सकेका छैनन्। अब हामी गाउँटोलबाटै मोर्चाबन्दी गरेर जनताका घरआँगनमा पुग्नेछौँ। जनताका समस्या सुन्नेछौँ, आलोचना र सुझाव ग्रहण गर्नेछौँ,’ ताम्लीले भने।
उनका अनुसार पार्टीको गुमेको जनविश्वास फर्काउन भाषण र नाराभन्दा जनतासँगको प्रत्यक्ष सम्बन्ध, उनीहरूका समस्या समाधान गर्ने प्रतिबद्धता र व्यवहारमा देखिने परिवर्तन आवश्यक छ। गाउँगाउँ र टोलटोलमा पुगेर जनतासँग संवाद गर्दै पार्टीलाई नयाँ ऊर्जा र उत्साहका साथ अघि बढाउने उनले बताए।
एमालेले सञ्चालन गरिरहेको ‘मिसन जागरण अभियान’लाई पार्टी सुदृढीकरणको महत्वपूर्ण अवसरका रूपमा लिन आग्रह गर्दै ताम्लीले सबै नेता तथा कार्यकर्तालाई अभियानमा सक्रियतापूर्वक सहभागी हुन निर्देशन दिए। जनताका आलोचनालाई विरोधका रूपमा नभई पार्टी सुधारको अवसरका रूपमा लिनुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालकी केन्द्रीय सचिव निशा लिम्बू, नेकपा एमाले शिवसताक्षी नगर कमिटीका सचिव लक्ष्मीप्रसाद गुरागाईँलगायतले शुभकामना मन्तव्य राखेका थिए।
नेकपा एमाले वडा कमिटी अध्यक्ष सुजन भेटवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो।












