भद्रपुर ।  आउँदै गरेको तिहार पर्वका क्रममा हुन सक्ने आगलागीका घटनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले भद्रपुर नगरपालिकासँगको सहकार्यमा आगलागी नियन्त्रणसम्बन्धी अभ्यास गरेको छ।
तिहारमा दीपावली, पटका तथा अन्य प्रज्वलनशील सामग्रीको प्रयोगबाट हुन सक्ने आगलागीका घटना न्यूनीकरण गर्ने, विपद्का बेला तत्काल उद्धार तथा आगो नियन्त्रण गरी जनधनको क्षति कम गर्ने उद्देश्यले उक्त अभ्यास गरिएको हो।
अभ्यासका क्रममा सशस्त्र प्रहरी कर्मचारीहरूले आगलागी नियन्त्रण तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास गरेका थिए। यस्ता अभ्यासले विपद् व्यवस्थापनमा सुरक्षाकर्मीको पूर्वतयारी, कार्यक्षमता र समन्वयलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।
आगलागी तथा अन्य विपद्का घटनामा सुरक्षा र उद्धार कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले सम्भावित जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य क्षमता अभिवृद्धि तथा स्थानीय तहसँगको सहकार्यलाई प्राथमिकता दिँदै आएको छ।
तिहारलाई सुरक्षित र मर्यादित बनाउन आगो तथा विद्युतीय उपकरणको प्रयोगमा सावधानी अपनाउन र आगलागीको जोखिम देखिएमा तत्काल सशस्त्र प्रहरी बल वा सम्बन्धित निकायलाई खबर गर्न गणले सर्वसाधारणमा आग्रह गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0