शिवसताक्षी । झापाको शिवसताक्षीमा कारितास नेपालद्वारा एक दिवशीय अभिमुखिकरण सम्पन्न भएको छ ।
मिसियो म्युनिखको आर्थिक सहयोग तथा शिवसताक्षी नगरपालिकासँगको समन्वयमा कारितास नेपालद्वारा सञ्चालित सुरक्षित आप्रवासन मार्फत मानव बेचबिखन विरुद्धको सबलीकरण परियोजना अन्तर्गत शिवसताक्षी नगरपालिका वडा नं. ८ स्थित श्री सरस्वती प्राथमिक विद्यालयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूले ध्यान दिनुपर्ने आवश्यक जानकारी, मानव बेचबिखनको जोखिम, सुरक्षा उपायहरू, कल्याणकारी कोषको भूमिका र वैदेशिक रोजगारसम्बन्धी सरकारी व्यवस्था लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रम आप्रवासी सञ्जाल समूह शान्तिटोल पिएम पाठशाला समूहका २५ जना सदस्यहरू, विद्यालय व्यवस्थापन समिति, विद्यालयका प्रधानाध्यापक तथा सो विद्यालयमा अध्ययनरत बालबालिकाका अभिभावकहरूलाई समेटेर गरिएको अभिमुखिकरण गराइएको सामाजिक परिचालक चिरञ्जीवी लुइटेलले जानकारी दिए ।
सामाजिक परिचालक लुइटेलका अनुसार उक्त अभिमुखीकरण कार्यक्रममा ६० जना बढीको उपस्थिति रहेको थियो।
अभिमुखिकरणमा सहभागीहरूले वैदेशिक रोजगारी र मानव बेचबिखनसम्बन्धी थुप्रै नयाँ कुरा जान्न पाएको बताए । यस्ता चेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिनु पर्ने सहभागीहरुको भनाई थियो ।
परियोजना सल्लाहकार समिति सदस्य श्री देव नारायण फुयालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सहजीकरण शिवसताक्षी नगरपालिकाका रोजगार सेवा केन्द्रका प्रमुख विदुर तिम्सिनाले गरेका थिए ।
आप्रवासी सञ्जाल समूह शान्तिटोल आइएम पाठशालाका अध्यक्ष श्री ख्याम बहादुर कार्कीको अध्यक्षमा अभिमुखिकरण गरिएको थियो ।












