काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै हालतमा पार्टीको नेतृत्व नछोड्ने आसयसहितको राजनीतिक प्रतिवेदन पार्टीको केन्द्रीय कमिटी बैठकमा पेश गरेका छन् ।

उनले पार्टी पनुर्गठनको बहस र मुद्दालाई नै आफ्नो तर्कद्वारा पुष्टि गर्ने कोसिस गर्दै उनले यसलाई लहडको विषयम नबनाउन चेतावनी दिएका छन् ।

पार्टी कस्तो अवस्थामा छ भन्ने ख्याल नगरी नेतृत्व विस्थापन गर्ने कार्य पुनर्गठन नहुने उनको तर्क छ ।

उनले राष्ट्रिय राजनीतिदेखि पार्टी भित्रका समस्या र आगामी कार्यभार सम्मका धारणा समेटेर ल्याएको प्रतिवेदनमा इतिहासमा पार्टी कसरी पुनर्गठन भएका थिए भन्ने दृष्टान्त समेत पेश गरेका छन् ।

केशरजंग रायमाझीको दरबार प्रवेशदेखि झापा आन्दोलन र २०७५ सालसम्मका विगतका तीनवटा पुनर्गठनका घटनालाई सन्दर्भमा ल्याएर उनले अहिलेको अवस्था त्यस्तो त्यस्तो नभएको उल्लेख गरेका छन् ।

उनले भनेका छन् ‘के हो पुनर्गठन ? कस्तो अवस्थामा हुन्छ ? के नेतृत्व विस्थापन गर्ने कुरालाई पुनर्गठन भनिन्छ ? हाम्रो धारको आन्दोलनमा कति पल्ट र कहिले कहिले पुनर्गठन भएको छ भन्ने कुरा हामीले राम्ररी बुझ्न जरुरी छ। पार्टी पुनर्गठन कुनै रहर वा लहडको विषय होइन ।’

यी र यस्ता परिस्थितिमा चालिएका यस्ता बाध्यकारी र आन्दोलनका जीवनमा सकारात्मक प्रभाव पार्ने संगठनात्मक ठूला कदमहरू चाहिँ पुनर्गठन भएको उनले बताए ।

‘यतिबेला चले, चलाइएको पुनर्गठनको हल्लाले शब्दार्थ वा भावार्थ केही पनि बोक्दैन र औचित्य, आवश्यकता र समय सन्दर्भसँग पनि विल्कुलै मेल खाँदैन’ ओलीले भनेका छन् ।

रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरण तीनैवटा कुरालाई अहिलेको सही अर्थमा बुझ्नुपर्ने उनको धारणा छ ।

‘रूपान्तरण भनेको इतिहास मेट्नु होइन। पार्टीको सङ्घर्ष, विचार, बलिदान र संगठनात्मक परम्परालाई अस्वीकार र अपमान गर्नु होइन। रूपान्तरण भनेको कार्यशैली बदल्नु हो । जनतासँग बोल्ने भाषा बदल्नु हो । निर्णय प्रक्रिया छरितो बनाउनु हो । कमिटीलाई बैठक गर्ने औपचारिक संरचनाबाट जनताको समस्या समाधान गर्ने केन्द्रमा बदल्नु हो, नेतृत्वलाई आदेश दिने तहबाट सुन्ने, बुझ्ने र परिणाम दिने तहमा बदल्नु हो’ उनले भनेका छन् । उनले आफ्नो औचित्यता पुष्टि गर्न रुखको बिम्ब प्रयोग गरेका छन् ।

‘पुरानो रूखमा नयाँ पालुवा ल्याउन जरा काटिँदैन। जरालाई पोषण दिएर नयाँ पालुवा हुर्काइन्छ। एमालेको इतिहास जरा हो, नयाँ पुस्ता पालुवा हो’ ओलीले भनेका छन्, हस्तान्तरण पद खाली गर्ने आकस्मिक र मनमौजी घटना होइन।’

जिम्मेवारी, ज्ञान, अनुभव, संस्था, राजनीतिक संस्कृति र निर्णय क्षमताको योजनाबद्ध हस्तान्तरण हुनुपर्ने तर तयारी बिनाको हस्तान्तरणले रिक्तता पैदा गर्न सक्ने उनको धारणा छ ।

‘पुस्तान्तरण उमेरको अंकगणित मात्र होइन। नयाँ पुस्तालाई जिम्मेवारी, प्रशिक्षण, अनुभव, अवसर र निर्णयमा स्थान दिने प्रक्रिया हो। उमेर कम हुनु आफैंमा योग्यता होइन, उमेर बढी हुनु आफैंमा अयोग्यता होइन। ऊर्जा र अनुभवको संयोजन आवश्यक हुन्छ’ ओलीले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0