शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको आयोजना तथा शिवसताक्षी मिडिया प्रा.लि.को संयोजन र सहजीकरणमा दुधेमा आजदेखि तीन दिवसीय महिलाहरुका लागि कानुनी परामर्श तालिम सुरु भएको छ ।
पछाडि पारिएका महिला तथा हिंसामा परेका महिलाहरुलाई लक्षित गर्दै कानुनी जानकारी र परामर्श प्रदान गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।

तालिम उद्घाटनका क्रममा बोल्दै नगर उपप्रमुख नरमाया कार्कीले तालिममा महिलाहरुलाई घरेलु हिंसा, सम्बन्ध विच्छेद, बोक्सीको आरोप, परिवार तथा सम्पत्ति सम्बन्धी कानुनी अड्चन, र महिला अधिकारका विषयमा अभिमुखिकरण गरिनेछ ।
तालिममा नगरका ११ वटै वडाबाट समस्या भोगिरहेका २÷२ जना महिलाहरुको सहभागिता रहेको छ । तालिम असार १ गतेसम्म सञ्चालन हुनेछ ।

पहिलो दिनको तालिममा पत्रकार गोपाल काफ्ले र न्यायिक समिति कर्मचारी नर्वदा दाहालले सहजीकरण गरेका थिए ।
कार्यक्रमको उद्घाटन सत्र वडा नं ११ का वडाध्यक्ष बहादुर आङ्गबोको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सञ्चार बाटिका अनलाइनका सम्पादक सरोज भट्टराईले गरेका थिए ।












