बिर्तामोड । झापा र इलाम जिल्लामा विभिन्न पूर्वाधार योजनाहरू सम्पन्न गरेका निर्माण व्यवसायीहरूले कोशी सरकारसँग भुक्तानी नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनीहरूले २२ करोड रुपैयाँभन्दा बढीको बक्यौता भुक्तानी रोकिएको दाबी गर्दै चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएका छन्।
निर्माण व्यवसायी संघ झापाका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय, झापाबाट गत आर्थिक वर्ष २०८०/०८१ मा कार्यान्वयनमा आएका करिब ३४ वटा योजनाको भुक्तानी अहिलेसम्म व्यवसायीहरूले पाएका छैनन्।
संघका अध्यक्ष रमेश अधिकारीको नेतृत्वमा मंगलबार व्यवसायीहरूको टोलीले पूर्वाधार विकास कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएको छ।
व्यवसायीहरूका अनुसार योजना सम्पन्न भई भ्याटसहितको बील असार २४ गतेभित्र सम्बन्धित कार्यालयमा बुझाइएको हो। तर, कुनै बीलको भुक्तानी गरिएको छैन, नापजाँच भएका योजनाहरू पनि प्रमाणित नगरिएकाले उनीहरू वित्तीय संकटमा परेको छ ।
ऋण, ब्याज, मजदुरको पारिश्रमिक र निर्माण सामग्रीको भुक्तानी गर्न नसक्ने अवस्था बनेपछि व्यवसायीहरूले निर्माण पेशाबाटै पलायन हुनुपर्ने अवस्थामा आफूहरू पुगेको गुनासो गरेका छन्।
संघले प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ को बजेटमा पनि बक्यौता भुक्तानीसम्बन्धी विषयलाई बेवास्ता गरेकोप्रति आपत्ति जनाएको छ।
संघले आगामी दिनमा प्रदेश सरकारको बेवास्ता यथावत् रहेमा जिल्लास्तरबाट सुरु गरेर प्रदेश–व्यापी आन्दोलनको घोषणा गर्ने तयारी गरेको छ।










