शिवसताक्षी । मिसियो म्युनिखको आर्थिक सहयोग र शिवसताक्षी नगरपालिकाको समन्वयमा कारितास नेपालद्वारा सञ्चालित “सुरक्षित आप्रवासनमार्फत मानव बेचबिखन विरुद्धको सबलीकरण परियोजना” अन्तर्गत तीनदिने व्यावसायिक तालिम सम्पन्न भएको छ।
फिर्ती आप्रवासीहरूलाई स्थानीय स्तरमै पुनःस्थापना गर्न सहयोग पुर्याउने र वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउने उद्देश्यले आयोजना गरिएको उक्त तालिम कात्तिक १९ गतेदेखि सुरु भएको थियो।
परियोजनाको दोस्रो वर्षमा प्रत्यक्ष लाभार्थीका रूपमा २० जना जीविकोपार्जन सहयोग प्राप्तकर्ता र ५ वटै वडाबाट चयन भएका ३५ जना सीप तथा क्षमता अभिवृद्धि कार्यक्रमका सहभागी गरी जम्मा ५५ जनाले तालिममा सहभागिता जनाएका थिए। उनीहरूलाई आफ्ना व्यवसाय सुदृढ बनाउन र सिकेका सीपलाई व्यावसायिक रूपान्तरण गर्न आवश्यक ज्ञान प्रदान गरिएको थियो।

‘आधारभूत व्यावसायिक योजना तर्जुमा, बजारीकरण, भ्यालु चेन र विप्रेषण व्यवस्थापन’ विषयमा केन्द्रित तालिमको समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
समापन कार्यक्रममा कारितास नेपाल प्रादेशिक कार्यालय दमकका प्रादेशिक प्रबन्धक श्री शंकरकुमार पौडेलको अध्यक्षता तथा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्राको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्रीमती सुनिता तुमहाम्फे, उपप्रमुख श्रीमती नरमाया कार्की, लेखा शाखा प्रमुख श्री प्रकाश योङहाङ, शिक्षा शाखा प्रमुख श्री छविलाल ढकाल, रोजगार शाखा प्रमुख श्री विदुर तिम्सिनासहित नगरपालिकाका विभिन्न शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण श्री लोकप्रिय खनालले गर्नुभएको थियो।












