कमल । झापाको कमल गाउँपालिका–१ बाह्रबिघे निवासी राकेश अधिकारीले लामो संघर्षपछि नेपाली नागरिकता प्राप्त गरेका छन्।
वडाध्यक्ष केदार कटुवालको सनाखतमा शुक्रबार इलाका प्रशासन कार्यालय दमकबाट अधिकारीलाई ०४–०२–८२–०२८४० नम्बरको नागरिकता प्रमाणपत्र प्रदान गरिएको हो।
आमा–बुवा दुवै नहुने बालबालिकाले वडाध्यक्षको सनाखतमा नागरिकता पाउने संविधानिक व्यवस्था अनुसार अधिकारीले चार वर्षको प्रयासपछि नागरिकता प्राप्त गरेका हुन्।
राकेशका बुबा बेदबहादुर अधिकारी बेपत्ता र आमा विष्णुमाया ढकालको मृत्यु भएपछि उनी नागरिकता पाउनबाट बञ्चित भएका थिए। वडाध्यक्ष कटुवालले अघिल्लो कार्यकालदेखि नै उनको नागरिकता दिलाउन प्रयास गरे पनि कानुनी प्रावधान नहुँदा प्रक्रिया अघि बढ्न सकेको थिएन।
तर हालै बनेको कानुनी व्यवस्थाले यस्तो नागरिकता वडाध्यक्षको सनाखतमा दिने बाटो खोलेपछि राकेशले नागरिकता प्राप्त गर्दै जीवनको नयाँ अध्याय सुरु गरेका छन्।
इलाका प्रशासन कार्यालय दमकका प्रमुख विश्वराज नेपालका अनुसार, यो व्यवस्थाले आमा–बुबा बिहीन बालबालिकाका लागि नागरिकता लिन सहज वातावरण तयार गरेको छ।












