अर्जुनधारा । झापाको अर्जुनधारामा आज चासोक तङनाम (उधौली पर्व) विविध सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा मनाइयो। चासोक तङनाम व्यवस्थापन समिति अर्जुनधाराको आयोजनामा अर्जुनधारा–१ स्थित मदनपुर सांस्कृतिक खेलमैदानमा सांस्कृतिक प्रस्तुति, मौलिक खेलकुद र धार्मिक कार्यक्रमसमेत समावेश गर्दै पर्वलाई विशेष रूपमा मनाइएको हो।
किराँत सभ्यताबाट उत्पत्ति पाएको चासोक तङनाम लिम्बू समुदायको विषेश पर्व हो। यस अवसरमा अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङले प्रमुख अतिथिका रूपमा उपस्थित भई अन्य अतिथिसहित परम्परागत च्याब्रुङ नाचमा सहभागिता जनाउँदै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।
कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी, नृत्य तथा गायक विकास लिम्बू र बादल लिम्बूका आकर्षक प्रस्तुति प्रस्तुत गरिएको थियो । छेलो हान्ने, डोरी तान्नेलगायतका मौलिक खेलकुद प्रतियोगिता समेत संचालन भएको थियो, जसले कार्यक्रमलाई अझै उत्साहपूर्ण बनायो। ती खेलका विजयी र उपविजयी सहभागीलाई नगद पुरस्कार प्रदान गरिएको आयोजक समितिकी कोषाध्यक्ष शर्मिला सुब्बाले जानकारी दिनुभयो।
पर्वको अवसर पारेर साविक खुदुनाबारी गाउँ विकास समितिका पूर्व अध्यक्ष तथा अग्रज व्यक्तित्व शंकरविक्रम नेम्बाङलाई आयोजक समितिले सम्मान गरेको थियो।
समितिका अध्यक्ष राजेश जवेगुले प्रकृतिपूजक लिम्बू समुदायको महत्वपूर्ण पर्व चासोक तङनामलाई सबै नेपालीले साझा सांस्कृतिक धरोहरका रूपमा पहिचान गराउने उद्देश्यअनुसार पर्वको अवसरमा एकिकृत रुपमा पर्व मनाइएको बताउनुभयो ।
धानलगायत वर्षभर उत्पादन भएका अन्नबालीलाई प्रकृतिप्रतिको कृतज्ञता व्यक्त गर्दै पूजा गर्ने तथा आगामी वर्षको सुख–समृद्धिको कामना गर्ने दिनका रूपमा चासोक तङनाम मनाइने गरिन्छ। पर्वको अवसरमा खेलमैदानलाई आकर्षक र पूर्ण रूपमा सांस्कृतिक वातावरण झल्किने गरी सजाइएको थियो।
यसअघि मंसिर १७ गते बिहान स्थानीय टाङटिङ नदीमा परम्परागत उधौली पूजा सम्पन्न गरिएको थियो। सोही दिन सामुदायिक वन स्तरीय भेट्रान्स फुटबल प्रतियोगिताको समापनसमेत गरियो । पर्वको अवसर पारेर गत मंसिर १४ गतेदेखि सुरु भएको प्रतियोगिताको उपाधि अर्जुनधाराको नमुना सामुदायिक वनले हात पारेको थियो।












