शिवसताक्षी । मिसियो म्युनिखको आर्थिक सहयोग तथा शिवसताक्षी नगरपालिकासँगको समन्वयमा कारितास नेपालद्वारा सञ्चालित सुरक्षित आप्रवासन मार्फत मानव बेचबिखन विरुद्धको सबलीकरण परियोजना अन्तर्गत शिवसताक्षी नगरपालिका–८ मा एकदिवसीय वित्तीय साक्षरता तालिम सम्पन्न भएको छ।

वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने तथा फिर्ती आप्रवासीहरूलाई स्थानीय स्तरमै पुनर्स्थापना गर्न सहयोग पुर्‍याउने उद्देश्यका साथ सञ्चालित परियोजनाअनुसार वडा नम्बर ८ मा गठित आप्रवासी सञ्जाल समूहका २५ जना सदस्यलाई तालिम प्रदान गरिएको हो।

परियोजनाले क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत नयाँ कृषि पद्धति आइपीएम तालिम मा सहभागी भइरहेका सोही समूहका सदस्यहरूलाई लक्षित गर्दै वित्तीय साक्षरता तालिम आयोजना गरिएको थियो। तालिममा बचत, ऋण, लगानी, बजेट योजना, पूँजी परिचालन तथा जोखिम व्यवस्थापन (Risk Management) लगायतका विषयमा विस्तृत जानकारी दिइयो।

परियोजनाका परिचालक चिरंजीवी लुटेलका अनुसार उत्पादनमुखी सीप विकास तथा उद्यमशीलता अभिवृद्धिका लागि वित्तीय साक्षरता अत्यन्तै आवश्यक भएको र यस तालिमले सहभागीहरूलाई आर्थिक क्षेत्रमा थप सशक्त बनाउने विश्वास लिइएको बताए।

शिवसताक्षी–८ को ढुङ्गेलचोकस्थित श्री दुर्गा पञ्चायन मन्दिरको हलमा सम्पन्न कार्यक्रमको सहजीकरण लोकप्रिय खनालले गरेका थिए। २५ जना सहभागी रहेको तालिममा सहभागिहरूले सिकेका विषयले घर–व्यवहार तथा व्यक्तिगत आर्थिक व्यवस्थापनमा ठूलो सहयोग पुग्ने प्रतिक्रिया दिएका थिए। साथै, यस्ता कार्यक्रम पहिले नै पाउन सके अझ प्रभावकारी हुने उनीहरूको भनाइ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0