झापा  । झापा जिल्लामा पछिल्लो समय सवारी साधन चोरीका घटना लगातार बढ्दै गएका छन् । विभिन्न स्थानबाट मोटरसाइकल, स्कुटी र सिटी सफारी चोरी हुन थालेपछि सर्वसाधारणमा सुरक्षाप्रति चिन्ता थपिएको छ ।

आइतबार विहानको राती करिब २ बजे मेचीनगर नगरपालिका–१०, विहानी किरण टोल निवासी रत्नकुमार चौधरीको आफ्नै घरअगाडि पार्किङ गरेर राखिएको प्र.१–०१–००२ ह १९७९ नम्बरको हरियो रंगको सिटी सफारी चोरी भएको छ ।

त्यसको अघिल्लो दिन पनि यस्तै प्रकृतिको घटना भएको थियो । अर्जुनधारा नगरपालिका–६, सिर्जना टोल निवासी युवराज बस्नेतको घरमा पार्किङ गरी राखिएको मे १ ह १२३६ नम्बरको रातो रंगको सिटी सफारी रातिको समयमा चोरी भएको थियो ।

यसैगरी मंसिर २४ गते राति अर्जुनधारा–६, महानन्द चौक निवासी भक्ति शिवाकोटीको मे २ प ७७२ नम्बरको कालो रंगको मोटरसाइकल घरमै पार्किङ गरिएको अवस्थामा हराएको छ ।

मंसिर २५ गते बिहान करिब ९ः४० बजे दमक नगरपालिका–५ स्थित नेपालरिका होटल अगाडि पार्किङ गरी राखिएको काठमाडौँ नयाँ बानेश्वर निवासी तुलसा पन्तको नाममा दर्ता भएको बा ५९ प ५१०९ नम्बरको रातो रंगको स्कुटी पनि चोरी भएको थियो ।

त्यस्तै मंसिर २३ गते दिउँसो करिब ४ बजे मेचीनगर नगरपालिका–९ निवासी सुमन बर्देवाको नाममा दर्ता भएको प्रदेश नं. १–०१–०१४ प १४१९ नम्बरको निलो रंगको मोटरसाइकल दमक–८ स्थित एनसेल कार्यालय अगाडिबाट चोरी भएको जनाइएको छ ।

लगातार सवारी साधन चोरीका घटना बढ्दै गएपछि स्थानीयवासीले सुरक्षाका उपाय थप प्रभावकारी बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । चोरी भएका सवारी साधनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0