काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयन निर्णायक मोडमा पुगेसँगै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दुवै आ–आफ्ना ‘कमजोरीलाई शक्ति’ बनाउने रणनीतिमा केन्द्रित भएका छन् । मंगलबार अपराह्न हुने मतदानलाई लक्षित गर्दै दुवै पक्ष संगठनभित्र देखिएका असन्तुष्टि, अन्तरविरोध र असहमतिलाई आफ्नो पक्षमा मोड्ने प्रयासमा छन् ।
अध्यक्ष ओली तेस्रो कार्यकालका लागि मैदानमा उत्रिँदा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनसहित पोखरेलले कडा चुनौती प्रस्तुत गरेका छन् । संस्थापन पक्षमै पदाधिकारी छनोटलाई लिएर असन्तुष्टि बढेपछि पोखरेल समूह थप उत्साहित देखिएको छ । विशेषतः महासचिव र उपाध्यक्ष पदको समीकरणले संस्थापनभित्र ‘क्र्याक’ देखिएपछि त्यसलाई परिणाम बदल्ने आधार बनाउने पोखरेल पक्षको बुझाइ छ ।
महासचिवका आकांक्षी उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्ष पदमा उम्मेदवारी दिन अस्वीकार गरेपछि पोखरेल समूहले त्यसलाई रणनीतिक अवसरका रूपमा व्याख्या गरेको छ । त्यस्तै, ओली पक्षसँग लामो समयदेखि नजिक रहेका लालबाबु पण्डित कोटामा नपरेपछि छुट्टै उम्मेदवारी दर्ता गर्नु र भीम आचार्यको सचिवमा स्वतन्त्र उम्मेदवारीले पनि संस्थापनको एकता कमजोर भएको संकेत गरेको विश्लेषण गरिएको छ ।
संस्थापनभित्र देखिएको असन्तुष्टि पोखरेल समूहका लागि ‘स्ट्रेन्थ’ जस्तै बनेको छ । ज्ञवाली महासचिवका प्रमुख दाबेदार भए पनि ओलीले शंकर पोखरेललाई दोहोर्याएपछि उनले असन्तुष्टि जनाउँदै केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएका छन् । अर्का दाबेदार पृथ्वीसुब्बा गुरुङ भने उपाध्यक्ष पदमा सीमित हुन पुगेका छन्, जसले महासचिव दोहोरिन नहुने अडान राख्दै आएका थिए ।
यद्यपि, समीकरण अन्तिम घडीमा फेरिएको संकेत पनि देखिएको छ । ज्ञवालीले मंगलबार बिहान अपिल जारी गर्दै ओली टिमलाई जिताउन आग्रह गरेका छन् । संस्थापनको रातभरको संवाद र प्रयासपछि आएको यो अपिलले पोखरेल पक्षले अपेक्षा गरेको ‘ड्यामेज’ केही हदसम्म न्यूनीकरण गरेको विश्लेषकहरूको भनाइ छ । सोमबार केन्द्रीय सदस्यको मनोनयन दर्तापछि भृकुटीमण्डपबाट असन्तुष्ट हुँदै बाहिरिएका ज्ञवालीको पछिल्लो कदमले ओली पक्षलाई मनोवैज्ञानिक राहत दिएको देखिन्छ ।
यसपटक एमालेको चुनाव केवल व्यक्तिबीचको प्रतिस्पर्धा नभई संगठनभित्रको असन्तुष्टि व्यवस्थापनको परीक्षा बनेको छ । पोखरेल पक्षले संस्थापनको भित्री असन्तुलनलाई परिवर्तनको आधार बनाउने प्रयास गरिरहेको छ भने ओली पक्ष अन्तिम क्षणसम्म एकता सन्देशमार्फत क्षति कम गर्न केन्द्रित छ । परिणाम जे आए पनि यो चुनावले एमालेको आगामी शक्ति सन्तुलन र नेतृत्व शैलीमा दीर्घकालीन प्रभाव पार्ने निश्चित देखिन्छ ।












