शिवसताक्षी । मिसियो म्युनिखको आर्थिक सहयोग तथा शिवसताक्षी नगरपालिकासँगको समन्वयमा कारितास नेपालद्वारा सञ्चालित सुरक्षित आप्रवासनमार्फत मानव बेचबिखन विरुद्धको सबलीकरण परियोजना अन्तर्गत शिवसताक्षी नगरपालिकामा एकदिने सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
आज शिवसताक्षी नगरपालिका वडा नम्बर–४ विष्णुचोकस्थित श्री मञ्जुश्री आधारभूत विद्यालयको भवनमा आयोजना गरिएको उक्त कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावक, स्थानीय समुदायका फिर्ती आप्रवासी, सम्भावित आप्रवासी तथा आप्रवासी परिवारका सदस्यहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको उद्देश्य वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनुका साथै फिर्ती आप्रवासीहरूलाई स्थानीय तहमा नै पुनःस्थापनामा सहयोग पुर्याउनु रहेको थियो। साथै स्वदेशमै स्वरोजगारमुखी कार्यमा लाग्न प्रेरित गर्ने तथा वैदेशिक रोजगारीमा जानै परेमा सीप सिकेर दक्ष जनशक्ति बनी नेपाल सरकारले तोकेका मापदण्डको पूर्ण पालना गर्दै सुरक्षित रूपमा विदेश जान सचेत गराउने उद्देश्य पनि कार्यक्रमको मुख्य केन्द्रीकरण रहेको थियो।

कार्यक्रममा वैदेशिक रोजगारीमा प्रस्थान गर्नु पूर्व अपनाउनुपर्ने सुरक्षा उपाय, वैदेशिक रोजगारीको क्रममा सुरक्षित रहन अवलम्बन गर्नुपर्ने विषयहरू, स्थानीय तहमा रोजगार सेवा केन्द्रले प्रदान गर्ने सेवाहरू, श्रम तथा सामाजिक सुरक्षा कोष, श्रमिक कल्याणकारी कोष, साथै वैदेशिक रोजगारीका क्रममा आइपर्ने समस्याको समाधानका लागि नेपाल सरकारका नियामक निकायहरूको भूमिकाबारे जानकारी दिइएको थियो।
परियोजनाका सामाजिक परिचालक श्री चिरञ्जीवी लुइटेलले कार्यक्रम स्वदेशमै रोजगारी र स्वरोजगारमा जोड दिन तथा वैदेशिक रोजगारीमा जानुअघि सम्पूर्ण जानकारी बुझेर मात्रै निर्णय लिन अभिप्रेरित गर्ने उद्देश्यले सञ्चालन गरिएको जानकारी दिनुभयो।
कार्यक्रममा ४७ जनाको सहभागिता रहेको थियो। कार्यक्रम विद्यालयका प्रधानाध्यापक श्री जयनारायण ताजपुरियाको अध्यक्षतामा सम्पन्न भएको हो भने सहजीकरण शिवसताक्षी नगरपालिकाका रोजगार शाखा संयोजक श्री विदुर तिम्सिनाले गर्नुभएको थियो।












