काठमाडौं ।  नेपालको राजनीतिमा सत्ता र पदप्रतिको आसक्ति चर्किंदै गएको बेला नेकपा एमालेका केही नेताहरूले पदभन्दा मूल्य र पुस्तान्तरणलाई प्राथमिकता दिँदै स्वैच्छिक अवकाश लिएका छन्। पार्टीको ११औँ महाधिवेशनको सन्दर्भमा उनीहरूको यो कदमलाई पदलोलुप प्रवृत्तिमाथिको नैतिक दबाबका रूपमा हेरिएको छ।

दुई कार्यकाल उपाध्यक्ष रहेका युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले सक्रिय राजनीतिमा नरहने घोषणा गर्दै नयाँ, सक्षम र शिक्षित युवालाई नेतृत्वमा आउन दिन पुरानाले पदबाट क्रमशः बिदा लिनुपर्ने बताएका छन्। उनीहरूले पार्टीमा काम गर्न पदमै बसिरहनु आवश्यक नभएको स्पष्ट पारेका छन्।

यसैगरी एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडाल, संगठन विभाग प्रमुख रहिसकेका काशीनाथ अधिकारी, पूर्व सांसद तथा शिक्षामन्त्री विद्या भट्टराई, केन्द्रीय सदस्य ईश्वरी जिएमलगायतका नेताहरूले पनि कुनै पदमा उम्मेदवारी नदिने निर्णय गरेका छन्। उनीहरूको भनाइमा पटक–पटक एउटै व्यक्तिले पद ओगट्नु भन्दा नयाँ पुस्तालाई अवसर दिनु लोकतान्त्रिक अभ्यास हो।

स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य चूडामणि जंगली र दलबहादुर राना, केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापा तथा बर्दियाका नेता भीम केसीले पनि पदीय आकांक्षा त्यागेका छन्।

पदमा नरहे पनि पार्टीको नीति, विचार र संगठन सुदृढीकरणमा सक्रिय रहने प्रतिबद्धता जनाएका यी नेताहरूले आफ्नो कदममार्फत राजनीतिमा इमान, त्याग र पुस्तान्तरणको सकारात्मक सन्देश दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0