झापा  । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका ठूलो परिमाणका हतियार तथा गोलीगठ्ठा बरामद गरिएको छ।

आज साँझ करिब ५ बजे दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोला किनारको काँसघारीमा बेवारिसे अवस्थामा हतियार र गोलीगठ्ठा फेला परेको हो। स्थानीयले देखेपछि इलाका प्रहरी कार्यालय दमकलाई जानकारी गराएका थिए।

सूचना प्राप्त भएपछि प्रहरी नायव उपरीक्षक किशोर लम्सालको कमाण्डमा खटिएको टोलीले घटनास्थल पुगेर हतियार तथा गोलीगठ्ठा बरामद गरेको हो। प्रहरीले बरामद गरेका हतियारमा म्याग्जिनसहितको ३११०३३६१ नम्बर भएको एक थान ईन्सास राइफल, म्याग्जिनसहितकै ३११०३३६४ नम्बरको अर्को एक थान ईन्सास राइफल तथा म्याग्जिन नभएको ३११०३५१२ नम्बरको एक थान ईन्सास राइफल रहेका छन्।

यसैगरी, ३०३ बोरका १३४ थान जंगी राउण्ड, एसएलआरका ५ थान जंगी राउण्ड तथा ईन्सासका २० थान जंगी राउण्ड पनि बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएका हतियार तथा गोलीगठ्ठा खिया लागेको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार ती हतियार तथा गोलीगठ्ठा जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीहरूले इलाका प्रहरी कार्यालय दमकबाट लुटपाट गरी लगेको अभिलेखसँग मेल खाने देखिएको छ। बरामद सबै सामग्री इलाका प्रहरी कार्यालय दमकमा ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

जेनजी आन्दोलनका क्रममा झापामा प्रहरीबाट लुटिएका कुल २४ थान हतियारमध्ये हालसम्म ७ थान मात्र फेला परेका छन् भने बाँकी १७ थान हतियार अझै पनि बेपत्ता रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0