झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशकै पहिलो घुम्ती अस्पताल आज झापाको कमल गाउँपालिकामा उद्घाटन गर्नुभएको छ ।

“कोशी घुम्ती अस्पताल” नाम दिइएको यस कार्यक्रमबाट स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका ग्रामीण तथा अर्ध–शहरी समुदाय लाभान्वित हुने विश्वास गरिएको छ । उद्घाटनपछि मुख्यमन्त्री कार्कीले सरकार परिवर्तनका कारण ढिला भए पनि सबैको सहयोगमा योजना सफलतापूर्वक सञ्चालनमा आएको बताउँदै दीर्घकालीन रूपमा व्यवस्थित ढंगले सञ्चालन गर्न निर्देशन दिनुभयो ।

नेपालकै इतिहासमा पहिलो घुम्ती अस्पताल आफ्नै निर्वाचन क्षेत्रबाट सुरु भएको उल्लेख गर्दै उहाँले सेवा विस्तारमा निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूले यस्ता कार्यक्रमलाई दलीय दृष्टिले नहेरी सबैले साथ दिनुपर्ने बताउनुभयो ।

कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले आफ्नै पालिकाबाट प्रदेश सरकारको घुम्ती अस्पताल सुरु भएकोमा धन्यवाद दिँदै नागरिकले विशेषज्ञ डाक्टरबाट सेवा पाएको बताउनुभयो ।

घुम्ती अस्पतालमार्फत स्वास्थ्य जाँच, पिसाब, मधुमेह, थाइराइड, मुटु परीक्षण (ईसीजी), हड्डी तथा नसासम्बन्धी रोगको जाँच, विशेषज्ञ परामर्श तथा आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो ।

यसै अवसरमा कमल नगर अस्पतालमा एआई प्रविधिमा आधारित डिजिटल एक्स–रे सेवा सहितको शिविर पनि सञ्चालन गरिएको थियो । शिविरमा ३६१ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । एआई एक्स–रेबाट १८२ जनाको परीक्षण हुँदा ३६ जनामा शंकास्पद देखिएकाले थप परीक्षणका लागि अस्पताल सिफारिस गरिएको स्वास्थ्य शाखा प्रमुख बिनु थापाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0