झापा । झापा जिल्ला स्तरीय कर्मचारी फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा शिवसताक्षी नगरपालिका विजयी भएको छ।
उद्घाटन खेलमा शिवसताक्षी नगरपालिकाले भद्रपुर नगरपालिकालाई २–० गोलअन्तरले पराजित गर्यो। शिवसताक्षीका जर्सी नम्बर १४ का सचिन श्रेष्ठले खेलको २२औँ र २७औँ मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाए। उत्कृष्ट प्रदर्शनका आधारमा सचिन श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए।

आजै सम्पन्न दोस्रो खेलमा दमक नगरपालिकाले बुद्धशान्ति गाउँपालिकालाई ५–१ गोलअन्तरले हराउँदै विजयी भयो। दमकले खेलको पहिलो हाफको १४औँ र १८औँ मिनेटमा तथा दोस्रो हाफको २औँ, १३औँ र २८औँ मिनेटमा गोल गर्न सफल भयो। बुद्धशान्ति गाउँपालिकाले भने पहिलो हाफको ४औँ मिनेटमा एक गोल फर्काएको थियो। खेलभरि दमकले बुद्धशान्तिलाई दबाबमा राखेर खेलेको आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ। खेलको म्यान अफ दि म्याच दमकका जर्सी नम्बर ८ का दिपेन्द्र घिमिरे घोषित भए।
त्यसैगरी तेस्रो खेलमा कनकई नगरपालिका विजयी भएको छ। कनकईले झापा गाउँपालिकालाई ६–३ गोलअन्तरले पराजित गर्यो। उक्त खेलमा कनकईका जर्सी नम्बर ७ का रुचन लिम्बु म्यान अफ दि म्याच घोषित भए।

आयोजकका अनुसार भोलि शनिबार चार खेल सम्पन्न हुनेछन्। पहिलो खेल बिहान १० बजे कमल गाउँपालिका र बाह्रदशी गाउँपालिका बीच हुनेछ। दोस्रो खेल बिहान ११ः३० बजे गौरादह नगरपालिका र कचनकवल गाउँपालिका बीच हुनेछ। तेस्रो खेल दिउँसो १ बजे अर्जुनधारा नगरपालिका र मेची नगरपालिका बीच तथा चौथो खेल दिउँसो २ः३० बजे बिर्तामोड नगरपालिका र गौरीगञ्ज गाउँपालिका बीच हुने तालिका रहेको छ।
प्रतियोगिताको उद्घाटन शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्राले गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख थोप्राले झापा जिल्लाभरिका स्थानीय तहका कर्मचारीहरूको वृत्ति विकास र आपसी सद्भाव अभिवृद्धिमा खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले प्रतियोगिता नवौँ संस्करणका रूपमा सञ्चालन भइरहेको जानकारी पनि दिनुभयो।

खेल संयोजक प्रकाशचन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लेखा अधिकृत प्रकाश योङहाङ र शिक्षा अधिकृत छवि ढकालले गर्नुभएको थियो।
प्रतियोगिताको विजेता टिमले नगद १ लाख र उपविजेता टिमले ५५ हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल माघ १३ गते हुने आयोजकले जनाएको छ ।












