झापा जिल्लाको साबिक शिवगञ्ज–४, हाल शिवसताक्षी–७ बहिदार चोक—महेन्द्र राजमार्गको झिलझिलेबाट करिब तीन किलोमिटर दक्षिण, श्री भानु माध्यमिक विद्यालय लालझोडाबाट पूर्वतर्फ लाग्दा मूल नहरसँगै शान्त रूपमा उभिएको मेरो गाउँघर।

हरियो खेतका फाँटहरू, नहरको बगाइसँगै आउने मधुर हावा, र साँझपख घर फर्किँदा सुनिने चराचुरुङ्गीको चिर्बिर्चिर्बिर आवाज—त्यो परिवेश मेरो बाल्यकालको अमूल्य धरोहर हो।

त्यही आँगनमा हामी साथीहरूसँग दिनभरि खेल्थ्यौँ—कहिले डन्डीबियो, कहिले लुकामारी, कहिले मोचामा कागज वा प्लास्टिक खाँदेर बनाएको अर्गानिक गोलो, कहिले नहरको छेउमा बसेर पानीसँगै आफ्ना सपना बगाउँथ्यौँ। माछाजस्तै पौडिन्थ्यौँ। आहा! जीवन त्यतिबेला कति सरल र सरस थियो! साना–साना चाहनाहरू, साना–साना खुसीहरू, र ती पूरा हुँदा आउने ठूला सन्तुष्टिहरू।

तर ती खुसीहरूबीच आमाले दिएको एउटा शिक्षा भने सधैँ गहिरो छाप छोडेर गयो।

एकदिन साथीको नयाँ खेलौना देखेर मन लोभियो। घर आएर चुपचाप बसिरहेको थिएँ। आमाले सोध्नुभयो, “के भयो?” मैले केही भनिनँ। उहाँ हल्का मुस्कानसहित भन्नुभयो—
“मुख छ कि मुलुक छ: माग्दा संसार पाइन्छ। तर सम्झ, माग्नु भनेको ढाँट्नु होइन, छल्नु होइन, चोरी गर्नु होइन।”

त्यो दिन मैले खेलौना पाएँ कि पाइनँ—मलाई याद छैन। तर आमाको त्यो वाक्य मेरो मनमा गहिरोसँग बसेको छ।

वास्तवमा “माग्नु” भनेको केवल केही लिनु मात्र होइन, आफ्नो अस्तित्व प्रकट गर्नु हो। आफ्नो आवश्यकता स्वीकार गर्नु हो। जीवनमा अगाडि बढ्न अरूसँग सहयोग माग्नु कमजोरी होइन, बरु आत्मविश्वासको चिन्ह हो। तर आमाले सिकाउनुभएको कुरा अझ गहिरो थियो—सही बाटो रोज्ने हिम्मत राख्नु।

आजको समाजमा हामी छिटो सफल हुने दौडमा छौँ। कतिपयले सोच्छन्—ढाँटेर, छल गरेर वा अरूको हक खोसेर सजिलै माथि पुगिन्छ। तर त्यस्तो सफलता बालुवाको महलजस्तै हुन्छ—बाहिरबाट चम्किलो, भित्रबाट कमजोर।

माग्नु र गलत तरिकाले लिनुबीचको अन्तर बुझ्नु नै जीवनको ठूलो बुद्धिमत्ता हो। माग्नुमा इमान्दारिता हुन्छ, सम्मान हुन्छ, र आत्मसन्तुष्टि हुन्छ। तर छलकपटमा डर हुन्छ, अस्थिरता हुन्छ, र अन्ततः पछुतो मात्र बाँकी रहन्छ।

✍️राजेश खड्का

मागेर पाएको सानो कुरा पनि किन यति मीठो लाग्छ? किनकि त्यो आत्मसम्मानसँग जोडिएको हुन्छ। आफूले सही तरिकाले प्राप्त गरेको कुरा सधैँ गर्वको विषय हुन्छ। तर गलत बाटोबाट आएको उपलब्धि, चाहे जति ठूलो किन नहोस्, मनको कुनामा असहजता छोडेर जान्छ।

आज म जब आफ्ना विद्यार्थीहरूसँग उभिन्छु, उनीहरूलाई यही कुरा सम्झाउन मन लाग्छ—
“नडराऊ, प्रश्न गर। नहिच्किचाऊ, आफ्नो कुरा राख। तर सधैँ सत्य र इमान्दारिताको बाटो रोज।”

किनकि जीवनमा स्थायी सफलता त्यहीँबाट सुरु हुन्छ।

बाल्यकालका ती दिनहरू—नहर किनारको घर, साथीहरूसँगको हाँसो, र आमाको ममतामय शिक्षा—यी सबैले मिलेर मेरो सोच, मेरो मूल्य र मेरो जीवनदृष्टि निर्माण गरेका छन्।

अन्ततः, “मुख छ कि मुलुक छ” भन्नुको अर्थ केवल बोल्न सक्ने क्षमता होइन, सही कुरा बोल्ने साहस हो। र “माग्दा संसार पाइन्छ” भन्नुको अर्थ केवल पाउनु होइन, योग्य तरिकाले पाउनु हो।

जीवनले हामीलाई धेरै अवसर दिन्छ। तर ती अवसरलाई कसरी समात्ने भन्ने कुरा हाम्रो हातमा हुन्छ। यदि हामीले माग्न सिक्यौँ, तर गलत बाटो रोजेनौँ भने, हामीले केवल संसार होइन—सम्मान, सन्तोष र सच्चा सफलता पनि पाउनेछौँ।

किनकि अन्तिम सत्य सधैँ एउटै रहन्छ—
माग्दा संसार पाइन्छ, तर साँचो बाटोबाट माग्दा मात्र त्यो संसार आफ्नो बन्न सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
0
+1
0