बिर्तामोड । प्रेम कथामा आधारित नेपाली चलचित्र मालती मंगले आगामी वैशाख २५ गतेदेखि देशभर एकैसाथ प्रदर्शनमा आउने भएको छ।
प्रेम, भावना र सम्बन्धका विविध आयाम समेटिएको यस चलचित्रले दर्शकमाझ विशेष आकर्षण पैदा गर्ने अपेक्षा निर्माण टिमले गरेको छ। चलचित्रमा प्रेमसँगै आउने उतारचढाव, त्याग, समर्पण र संघर्षलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ, जसले दर्शकलाई भावनात्मक रूपमा जोड्ने विश्वास गरिएको छ।
निर्माण पक्षका अनुसार कथा सरल भए पनि प्रस्तुति सशक्त बनाइएको छ। पात्रहरूको जीवनशैली, सम्बन्ध र परिस्थितिजन्य द्वन्द्वलाई यथार्थपरक ढंगले चित्रण गरिएको जनाइएको छ। साथै दृश्य, संवाद र सङ्गीतले कथालाई अझ प्रभावशाली बनाएको उल्लेख गरिएको छ।
प्रदर्शन मिति नजिकिँदै जाँदा चलचित्रको प्रचारप्रसार तीव्र पारिएको छ। देशभरका प्रमुख सिनेमा हलहरूमा एकैसाथ प्रदर्शन गर्ने तयारी पूरा भइसकेको निर्माण टिमले जनाएको छ।
चलचित्रको कथा निर्देशक पाण्डेय स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईंले तयार पारेका छन्। विजय, वर्षा र मेक्सम मुख्य भूमिकामा देखिने यस चलचित्रमा नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराईलगायत कलाकारहरूको अभिनय रहेको छ।
कार्यकारी निर्माता सागर ज्ञवाली रहेका छन् भने बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह–निर्माताका रूपमा छन्।
प्राविधिक पक्षमा महेश पौडेलको छायाङ्कन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ्ग संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक तथा डिकेश खड्गीको ध्वनि मिश्रण रहेको छ।
यसअघि सार्वजनिक गीतहरूमा हर्क साउदको शब्द, एसडी योगीको सङ्गीत र रिकेश गुरुङको एरेन्ज रहेको छ भने भिडियो कोरियोग्राफी रोशन बिकले गरेका छन्।
मनोरञ्जनसँगै प्रेमको गहिरो सन्देश दिन सफल हुने विश्वास गरिएको मालती मंगले ले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।












