झापा जिल्लाको पर्यटकीय दोमुखा क्षेत्र यतिबेला प्रकृतिको अनुपम सौन्दर्यले सजिएको छ। बैशाख लागेसँगै यहाँका सिरिसका रुखहरूमा राताम्य फूलहरू फुल्न सुरु गरेका छन्, जसले सम्पूर्ण क्षेत्रलाई आकर्षक र मनमोहक बनाएको छ।

सामान्यतया गर्मीयामको सुरुवातसँगै फुल्ने सिरिस का फूलहरूले दोमुखालाई प्राकृतिक रंगशालामा परिणत गरेका छन्। यहाँ रहेका करिब २९ वटा सिरिसका रुखहरू एकसाथ फुल्दा देखिने दृश्य जो–कोहीलाई पनि मन्त्रमुग्ध बनाउने खालको छ। हल्का हावासँगै फूलका पातहरू हल्लिँदा प्रकृतिले आफैं गीत गाउँझैं अनुभव गराउँछ।

दोमुखा क्षेत्र आफैंमा धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले महत्वपूर्ण गन्तव्य मानिन्छ। यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले शान्त वातावरण, हरियाली वनस्पति र नदी किनारको रमणीय दृश्यसँगै सिरिसको फुलले थप आकर्षण अनुभव गर्न सक्छन्। विशेषगरी यस मौसममा फोटो खिच्न, घुम्न र प्राकृतिक आनन्द लिन चाहनेहरूका लागि यो स्थान उपयुक्त गन्तव्य बनेको छ।

यस सुन्दरता र सम्भावनालाई मध्यनजर गर्दै स्थानीय तह तथा सरोकारवाला निकायहरूले दोमुखाको प्रचार–प्रसारमा ध्यान दिन सके पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्न सक्छ। सिरिस फूल फुल्ने समयलाई लक्षित गरी ‘फूल महोत्सव’ वा ‘प्रकृति भ्रमण कार्यक्रम’ आयोजना गर्न सकिएमा यस क्षेत्रको पहिचान अझ व्यापक बन्ने निश्चित छ।

प्रकृतिको अनुपम उपहारले सजिएको दोमुखा अहिले केवल एउटा स्थान मात्र होइन, शान्ति, सौन्दर्य र आकर्षणको संगम बनेको छ। सिरिसका फूलहरूले सजिएको यो क्षेत्रले सबैलाई एकपटक अवश्य घुम्न आउन निम्तो दिइरहेको छ।














