शिवसताक्षी । झापाको शिवसताक्षीमा एक दिवसीय निशुलक आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । आज शिवसताक्षीको वडा नं. १ को कार्यालयमा सम्पन्न स्वास्थ्य शिविरमा २ सय बढी नागरिकले सेवा लिएका छन् ।
शिविरमा सहभागी नागरिकहरूको स्वास्थ्य परीक्षणसँगै रक्त परीक्षण तथा निःशुल्क औषधि वितरण गरिएको दुधे आयुर्वेद औषधालयका कविराज निरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्राले पछिल्लो समय आयुर्वेद चिकित्सा पद्धतिप्रति नागरिकको विश्वास बढ्दै गएको बताउनुभयो । उहाँले एलोपेथिक उपचारबाट पूर्ण रूपमा निको हुन नसकेका कतिपय दीर्घरोगहरू आयुर्वेद पद्धतिबाट सुधार भएको अनुभव नागरिकले गर्न थालेपछि यसको प्रभावकारिता बढ्दै गएको उल्लेख गर्नुभयो ।

“नगरपालिकाले सबै वडामा आयुर्वेद सेवाको पहुँच विस्तार गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ,” नगरप्रमुख थोप्राले भन्नुभयो ।
शिविरमा आयुर्वेद विज्ञ डा. विजय श्रेष्ठ र डा. रामप्रबोध चौधरीले स्वास्थ्य परामर्श तथा उपचार सेवा प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नं. ११ का वडाध्यक्ष बहादुर आङ्बोलसहित वडा नं. १ का जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । वडा नं. १ का वडाध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कविराज निरीक्षक राजेन्द्र पोखरेलले गर्नुभएको थियो ।










