शिवसताक्षी ।  झापाको शिवसताक्षी नगरपालिकाले गरेको बजार अनुगमनका क्रममा म्याद गुज्रिएका तथा लेबल नभएका विभिन्न खाद्य सामग्री बरामद गरिएको छ।

नगरपालिकाको अनुगमन टोलीले वडा नं. ४ स्थित रोशनी कृषि भण्डारमा गरिएको निरीक्षणका क्रममा आलुचिप्स, पापड, ब्रेड, पाउरोटी, कुरमुरेलगायतका खाद्य पदार्थ म्याद नाघेको अवस्थामा फेला पारेको जनाएको छ। त्यस्तै भारतीय लेबल भएका तर म्याद गुज्रिएका केही खाद्य सामग्रीसमेत भेटिएको नगरपालिकाले जानकारी दिएको छ।

शिवसताक्षी नगरपालिकाकी उपप्रमुख तथा बजार अनुगमन समितिकी संयोजक नरमाया कार्की ले हेल्लो सरकारमार्फत प्राप्त सूचनाका आधारमा अनुगमन गरिएको बताउनुभयो। उहाँका अनुसार उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने अखाद्य तथा म्याद गुज्रिएका सामग्री तत्काल जफत गरी डिस्पोज गरिनेछ।

उपप्रमुख कार्कीले नगरपालिकाले विगतमा चाडपर्वको समयमा मात्र सीमित हुने बजार अनुगमनको परम्परा तोड्दै गएको वर्षदेखि नियमित तथा छड्के अनुगमनलाई निरन्तरता दिएको बताउनुभयो। “उपभोक्ताको स्वास्थ्यप्रति संवेदनशील भएर बजारलाई व्यवस्थित र सुरक्षित बनाउन नियमित अनुगमन आवश्यक छ,” उहाँले भन्नुभयो।

नगरपालिकाका अनुसार निरन्तर अनुगमनका कारण बजार क्षेत्रमा सकारात्मक प्रभाव देखिन थालेको छ। पहिलेको तुलनामा म्याद गुज्रिएका तथा अखाद्य वस्तु कम फेला पर्न थालेको र व्यवसायीहरूमा पनि सचेतना बढ्दै गएको जनाएको छ।

नगरपालिकाले उपभोक्तालाई सामान खरिद गर्दा उत्पादन तथा म्याद सकिने मिति अनिवार्य रूपमा हेर्न आग्रह गर्दै व्यवसायीलाई गुणस्तरीय र सुरक्षित खाद्य सामग्री मात्र बिक्री वितरण गर्न चेतावनी दिएको छ।अनुगमनमा नगरका कृषि शाखाका कर्मचारी र नगरप्रहरीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0