अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ७ स्थित पितृ भवनमा न्यायिक समितिको क्षेत्राधिकार तथा मानवअधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

खड्कमाया पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा न्यायिक समितिको क्षेत्राधिकार, मेलमिलाप प्रक्रिया, मानवअधिकारको अवस्था तथा टोल विकास संस्थाको भूमिकाका विषयमा सहभागीहरूलाई अभिमुखीकरण गरिएको थियो।

कार्यक्रममा बोल्दै उपप्रमुख पराजुलीले यस्ता कार्यक्रमले स्थानीय तहमा न्यायिक समितिको क्षेत्राधिकार र मेलमिलाप प्रक्रियाबारे जनचेतना वृद्धि हुने बताउनुभयो। उहाँले यसबाट न्यायिक समितिको प्रभावकारिता अभिवृद्धि हुनुका साथै स्थानीय नेतृत्व क्षमताको समेत विकास हुने धारणा राख्नुभयो।

अर्जुनधारा नगरपालिका तथा न्यायिक समितिको आयोजनामा भएको कार्यक्रममा वडाका मेलमिलापकर्मी, टोल विकास संस्थाका पदाधिकारीलगायत ३० जना भन्दा बढीको सहभागिता रहेको थियो।

नगरपालिकाकी अधिकृत मायाकुमारी ऐरले सञ्चालन गर्नुभएको कार्यक्रममा न्यायिक समितिकी सदस्य शर्मिला सुब्बाले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष गोविन्द खतिवडासहित जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा झापा जिल्ला अदालतका शाखा अधिकृत रामचन्द्र बस्नेत तथा नेपाल बार एसोसिएसन झापाकी सहसचिव एवं महिला समिति अध्यक्ष अधिवक्ता सानु कार्की बस्नेतले सहजीकरण गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0