शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी चौथो कर्णबहादुर नेम्वाङ स्मृति भेट्रान कप फुटबल प्रतियोगिता २०८३ को उपाधि झिलझिले भेट्रानले उचालेको छ ।

शनिबार दुधे रंगशालामा सम्पन्न रोमाञ्चक फाइनल खेलमा झिलझिले भेट्रानले आयोजक दुधे भेट्रानलाई २–१ गोलले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो।

खेलको सुरुआती समयदेखि नै दुधे भेट्रानले आक्रामक खेल प्रदर्शन गर्दै झिलझिलेमाथि दबाब सिर्जना गरेको थियो। बल नियन्त्रण र अवसर सिर्जनामा दुधे केही हदसम्म हाबी देखिए पनि गोल गर्न भने सफल हुन सकेन। पहिलो हाफमै झिलझिलेले पाएको पेनाल्टी अवसरलाई विशाल राईले सदुपयोग गर्दै टोलीलाई १–० को अग्रता दिलाए।

दोस्रो हाफमा दुधेले खेलमा उत्कृष्ट पुनरागमन गर्यो। झिलझिलेका खेलाडीबाट डिबक्सभित्र ह्यान्डबल भएपछि प्राप्त पेनाल्टीलाई कोमल खवासले गोलमा परिणत गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।

बराबरीपछि दुवै टोलीले जितका लागि आक्रामक खेल जारी राखे। खेल अतिरिक्त समयमा प्रवेश गर्ने संकेत देखिइरहेका बेला झिलझिलेले निर्णायक प्रहार गर्यो। अतिरिक्त समयको अन्तिम क्षणमा अन्कुर खड्गीले गरेको कर्नर प्रहारमा प्रविन विश्वकर्माले आकर्षक हेडमार्फत गोल गर्दै झिलझिलेलाई २–१ को ऐतिहासिक जित दिलाए।

उपाधिसँगै झिलझिले भेट्रानले नगद १ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो। उपविजेता बनेको दुधे भेट्रानले नगद ७५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।

प्रतियोगिताका व्यक्तिगत विधातर्फ पनि झिलझिले भेट्रानकै दबदबा रह्यो। उत्कृष्ट गोलरक्षक तिर्थ रिजाल, उत्कृष्ट डिफेन्डर विष्णु सुनार, उत्कृष्ट प्रशिक्षक विजय राई तथा सर्वाधिक गोलकर्ता प्रविन विश्वकर्मा घोषित भए। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने दुधे भेट्रानका सन्तोष शेर्मा घोषित भए। फाइनल खेलको ‘म्यान अफ द म्याच’ झिलझिले भेट्रानका विशाल राई घोषित भए।

फाइनल खेलमा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले खेल क्षेत्रको विकास र प्रवद्र्धनमा शिवसताक्षी नगरपालिकाले उल्लेखनीय काम गर्दैै आएको बताउनु भयो । उहाँले त्यसको उदाहरण दुधे रंगशालाको निर्माण र गएको वर्षदेखि यस रंगाशलामा निरन्तर खेलहरु सञ्चालन भएको अवगत गराउनु भयो । फाइनल खेलमा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले पनि शुभकामना दिनुभएको थियो ।
फाइनल खेल अबलोकन गर्न झापा फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङ, वडा नं. ११ का अध्यक्ष बहादुर आङ्बोलगायत विभिन्न क्षेत्रका व्यक्तित्व तथा खेलप्रेमी दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

रोमाञ्चक प्रतिस्पर्धा, दर्शकहरूको उत्साहजनक साथ तथा अनुभवी खेलाडीहरूको उत्कृष्ट प्रदर्शनका कारण प्रतियोगिताको फाइनल खेल स्मरणीय बनेको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0