बिर्तामोड । साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘हली’ को प्रचारप्रसार अभियानअन्तर्गत बिहीबार झापाको बिर्तामोडमा विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चलचित्रले उठाएको किसानको जीवन, सामाजिक यथार्थ र छाउपडीजस्ता कुप्रथाविरुद्धको सन्देशलाई वक्ताहरूले महत्वपूर्ण विषयका रूपमा चर्चा गरेका छन्।
जापुरा फिल्म प्रोडक्सन प्रालिकी अध्यक्ष पूजा गुरुङको अध्यक्षता तथा कोशी प्रदेशका पूर्वमन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कार्कीले नेपाल कृषिप्रधान देश भएकाले किसानको जीवनसँग जोडिएका कथावस्तु दर्शकसम्म पुग्न आवश्यक रहेको बताउनुभयो। उहाँले ‘हली’ले किसानको संघर्षसँगै छाउपडीजस्तो सामाजिक विकृतिलाई पनि उजागर गरेको उल्लेख गर्दै यस्ता सन्देशमूलक चलचित्रले दर्शकको साथ पाउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमका प्रमुख आकर्षण रहेका वरिष्ठ अभिनेता सरोज खनालले नेपाली चलचित्र क्षेत्रलाई राज्यले अझै उद्योगको रूपमा स्वीकार नगर्दा निर्माता तथा कलाकारहरू समस्यामा परेको बताउनुभयो ।चलचित्र निर्माणमा ठूलो जनशक्ति परिचालन हुने भए पनि राज्यबाट अपेक्षित नीति र सहयोग नपाएको उहाँको भनाइ थियो। चलचित्र क्षेत्र संकटमा पर्दा राज्यले प्रभावकारी राहत र संरक्षणका कार्यक्रम ल्याउन नसकेको गुनासो गर्दै उहाँले झापाली दर्शकलाई ‘हली’लाई पनि साथ दिन आग्रह गर्नुभयो।
नेपाल चलचित्र निर्माता संघका केन्द्रीय सचिव युवराज गिरीले निर्माता सुरक्षित भए मात्र नेपाली चलचित्र उद्योग टिक्ने धारणा राख्नुभयो। नेपाली चलचित्रको भविष्य दर्शकको साथ र माया मै निर्भर रहेको उल्लेख गर्दै उहाँले स्वदेशी फिल्मलाई प्राथमिकता दिन आग्रह गर्नुभयो।
चलचित्रकी निर्माता जस्मिन श्रेष्ठले स्वागत मन्तव्यका क्रममा लोपोन्मुख बन्दै गएको ‘हली’ संस्कारलाई संरक्षण गर्दै छाउपडी प्रथाविरुद्ध जनचेतना फैलाउने उद्देश्यले चलचित्र निर्माण गरिएको जानकारी दिनुभयो। एउटा ‘हली’ले पनि समाज परिवर्तनको सुरुवात गर्न सक्छ भन्ने सन्देश फिल्ममार्फत प्रस्तुत गरिएको उहाँको भनाइ थियो।
कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेती, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो। चलचित्र पत्रकार संघ नेपाल, झापा शाखाको संयोजनमा सम्पन्न कार्यक्रममा सन्दीपा नेम्वाङले स्वागत नृत्य तथा श्रीसा धामीले चलचित्रको गीतमा आकर्षक नृत्य प्रस्तुत गर्नुभएको थियो।
प्रदेशसभा सदस्य राधाकृष्ण खनाल, शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, शिक्षा अधिकृत छवि ढकाल, बिर्तामोड नगर शिक्षा अधिकृत तिलचन भण्डारी, चलचित्र पत्रकार संघ नेपालका कोशी प्रदेश उपाध्यक्ष रमेश तिवारी, नेपाल फिल्म सोसाइटी कोशी प्रदेश अध्यक्ष देवी झश्रेष्ठ, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्सका महासचिव नवीन खरेलसहित विभिन्न सामाजिक तथा सञ्चार क्षेत्रका प्रतिनिधिको कार्यक्रममा उपस्थिति रहेको थियो।
चलचित्र ‘हली’का कोशी प्रचारप्रसार संयोजक सुशान्त भण्डारी र चलचित्र पत्रकार संघ नेपाल, झापा शाखाका अध्यक्ष एकराज प्रधानको संयोजनमा सम्पन्न कार्यक्रमको सञ्चालन संघकी उपाध्यक्ष सुनिता तामाङले गर्नुभएको थियो।
ओम प्रतीकको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘हली’मा प्रमोद दीप, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कमल गाउँले र विशाल पहाडीलगायत कलाकारहरूको अभिनय रहेको छ।












