झापा । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज झापाको ७ औँ जिल्ला अधिवेशन शनिबार शिवसताक्षी नगरपालिका–स्थित दुधेमा रहेको होटल हाइजेनिकमा सम्पन्न भएको छ। अधिवेशनले कमल प्र. रिजालको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा मनकुमार राजबंशी, सचिवमा रञ्जनादेवी रिजाल (रञ्जु) र कोषाध्यक्षमा साधना झा चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा सोनिका नेपाल, वीरेन्द्र कुमार मण्डल, प्रीती कुमारी यादव, सन्तोष चौधरी तथा सुजित घिमिरे (समीर) रहेका छन ।
अधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना दिँदै उपस्थित अतिथिहरूले आयुर्वेद स्वास्थ्यकर्मीहरूको पेशागत हकहित, क्षमता विकास तथा आयुर्वेद स्वास्थ्य सेवाको प्रभावकारी विस्तारका लागि नयाँ कार्यसमितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज कोशी प्रदेशका अध्यक्ष बैजनाथ शाह प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमको अध्यक्षता नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज झापा जिल्ला अध्यक्ष गोपाल सुवेदीले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन झापा जिल्ला सचिव रञ्जनादेवी रिजालले गर्नुभएको थियो।
अधिवेशनमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजका केन्द्रीय सदस्य राजेन्द्र पोखरेल, उर्मिला ढकाल पोखरेल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. विजय श्रेष्ठ लगायत विभिन्न अतिथि तथा आयुर्वेद स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित अतिथिहरूले आयुर्वेद चिकित्सा पद्धतिको विकास, प्रवर्द्धन र जनस्तरसम्म यसको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिँदै नवनिर्वाचित कार्यसमितिलाई शुभकामना तथा बधाई ज्ञापन गर्नुभएको थियो।
अधिवेशनले आयुर्वेद स्वास्थ्यकर्मीहरूबीच आपसी एकता, सहकार्य र पेशागत विकासलाई थप सुदृढ गर्दै आयुर्वेद स्वास्थ्य सेवालाई अझ प्रभावकारी र जनमुखी बनाउने अपेक्षा गरिएको छ ।












