झापा । एसियन हाइवेअन्तर्गत पूर्व–पश्चिम राजमार्ग विस्तारका क्रममा देखिएका समस्या तत्काल सुधार गर्न जनप्रतिनिधि तथा सरोकारवालाले आयोजना पक्षको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रियसभा सदस्य सोमनाथ पोर्तेलसहितको टोलीले आयोजना प्रमुख सुनिलबाबु पन्तसँग भेट गरी सडक निर्माणमा भइरहेको ढिलाइ, धुलो, यातायात व्यवस्थापन तथा संरचना निर्माणका विषयमा छलफल गरेको हो। टोलीमा कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, शिवसताक्षी नगर प्रमुख मेगाहाङ थोप्रा, कनकाई उपप्रमुख आशा शर्मा शिवाकोटीलगायत सहभागी थिए।

पोर्तेलले निर्माणमा ढिलाइ हुँदा नागरिकले ठूलो सास्ती खेप्नुपरेको भन्दै तत्काल आवश्यक सहजीकरण गर्न आग्रह गरे। उनका अनुसार असार १९ गतेसम्म सम्पन्न हुनुपर्ने काम अझै ५० प्रतिशत पनि पूरा भएको छैन। आयोजना प्रमुख पन्तले दशैंअघि थप १० किलोमिटर एकतर्फी सडक कालोपत्रे गर्ने र माघ १९ गतेसम्म एकतर्फी शतप्रतिशत काम सम्पन्न गर्ने योजना रहेको जानकारी दिए।

शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्राले एसियन हाइवेको काम ढिला हुँदा नागरिकले सास्ती व्यर्होर्दै आएको बताए । एशियन हाइवेका ढिलाईको दवाव स्थानीयतह सम्म आउने गरेको र बजार क्षेत्रमा क्रशिङ र गाडी डाइर्भसन धेरै टाडा राखिएकाले समस्या भएको गुनासाहरु देखिएको छ ।उनले भने, त्यसकारण पनि स्थानीयतहका जनप्रतिनिधिहरु आयोजनासँग ध्याकर्षण गर्न गएका हौं ।

टोलीले सुरुङा लगायतका बढी जनघनत्व भएका क्षेत्रमा ओभरपास तथा अण्डरपास निर्माण, जेब्राक्रसिङ, बालमैत्री तथा अपांगतामैत्री संरचना र पैदलयात्रीमैत्री पूर्वाधारलाई प्राथमिकता दिन सुझाव दिएको छ।

पूर्व मेची बस व्यवसायी प्रालिका अध्यक्ष राजेन्द्र रिजालले दुवैतर्फ एकैपटक सडक भत्काउँदा यातायात व्यवसायी तथा सर्वसाधारण मारमा परेको बताए। उनका अनुसार तीन घण्टाको यात्रा छ घण्टासम्म लाग्ने गरेको छ।

काँकरभिट्टादेखि लौकहीसम्म १२० किलोमिटर सडक स्तरोन्नति गर्ने योजनाअन्तर्गत हाल ९५.७६ किलोमिटरको ठेक्का लागेर काम भइरहेको छ। पूर्वी र पश्चिम खण्डमा विभाजन गरिएको आयोजनाको कुल लागत करिब १० अर्ब रुपैयाँ रहेको छ। सडकमा ४८ वटा पुल र १० वटा ओभरपास निर्माण हुनेछन्। बजार क्षेत्रमा फुटपाथ, साइकल लेन तथा ड्रेनसहितको संरचना निर्माण गर्ने योजना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0